मलेसिया पुगेको छोरा १ वर्षदेखि सम्पर्क विहीन, बाबु आमा छोराको खोजीमा भौतारिदै

बालबिक्रम कार्की, रौतहट। वैदेशिक रोजगारीको लागि मलेसिया गएको छोरो विगत १ वर्षदेखि सम्पर्कविहीन भएपछि रौतहटका खड्का दम्पत्ति छोराको भोक निन्द्रा हराएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना निवासी ५० वर्षीय रामजीबहादुर खड्का र उनकी श्रीमती सानुकुमारी खड्काले आफ्नो २३ वर्षीय कान्छो छोरा रुपेश खड्का विगत १ वर्षदेखि मलेसियाबाट स’म्पर्क वि’हीन भएको भन्दै खोजी गरिदिन सबैलाई आग्रह गर्नु भएको छ ।

करिब ३ वर्ष अगाडि आफ्नै फुपुको पहलमा कन्काइ मेनपावर मार्फत मलेसिया गएका रुपेश १ वर्षदेखि सम्पर्कमा नआएपछि चिन्तित बन्दै खड्का दम्पति छोराको खोजीमा भौ’तारिएका छन्। १ वर्ष अघिसम्म नियमित रुपमा पैसा पठाइरहने र बारम्बार घर परिवार संग सम्पर्कमा रहिरहेका रुपेश अचानक सम्पर्क विहीन भएपछि छोराको अवस्था थाहा पाउन पाएमात्र पनि सन्तोष हुने भन्दै खड्का दम्पति छोराको खबर जान्न यताउता भौतारिदै हिड्न थालेका हुन् ।

कृषिविकास बैंक चन्द्रपुरमा पियन पदमा कार्यरत रामजीले छोरालाई मलेसिया पठाउने आफ्नै बहिनीसंग छोराको बारेमा सोध्दा रुपेशले पहिलाको कम्पनीबाट काम छाडेर भागेको भन्दै पन्छिने गरेको गुनासो गर्नुभयो। बहिनीले रामजीलाई रुपेशलाई मलेसियाको एउटा होटलमा वेटरको काम गर्न पठाएको तर काम गरेको ६ महिनामै सो काम छाडेर भागेकाले त्यस्को जिम्मा मेनपावरले नलिने जवाफ दिने गरेको गुनासो पनि उहाँको छ ।

काममा लागि भनेर गएको छोरा काम छाडेर अर्कै ठाउँमा भागेर काम गरेको सुनेपछि रिसाएर छोराको वास्ता नगरेको बताउने रामजीले धेरै लामो समय बित्दापनि छोरो सम्पर्कमा नआएपछि तनावमा परेको बताउनु हुन्छ । निरक्षर रहेका खड्का दम्पतिलाई छोरोको खोजी गर्न कुन कार्यालयमा जानुपर्छ, के गर्नुपर्छ भन्ने ज्ञान तथा जानकारी पनि छैन् । केहि दिनअघि उनै बहिनीको सहयोगमा खड्का दम्पत्तिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छोराको खोजीको लागि निवेदन पनि दिएका थिए ।

‘सरहरुले पनि काम छोडेर भागेको रहेछ भन्नुभएको छ’ उहाँले भन्नुभयो, ‘ आफुहरुलाई कुनै जानकारी आएमा खबर गर्छु पनि भन्नु भएको छ । छोराको अवस्थामा जान्न पाए मन ढुक्क हुन्थ्यो।’ छोरा विदेशी भूमि जेलमा प¥यो कि वा केही नराम्रो भयो कि भन्ने चिन्ताले खड्का दम्पतिलाई सताउन थालेको छ । रुपेशकी आमा सानु कुमारीले छोरालाई अन्तिम पटक फोन गर्दा छोराले नभई अन्य मानिसले उठाएको फोनमा झगडा गरेको जस्तो, कुटेको जस्तो आवाज आएको सम्झना गर्नुहुन्छ ।

उहाँले छोराले फोनमा‘मेरो के गल्ती छ, मलाई कुरा गर्न दे’भनेको स्मरण गर्दै आफ्नो छोरालाई केही नराम्रो पो भयो कि भनेर भक्कानिनु हुन्छ । ‘छोरालाई बोल्न खोज्दा उसलाई बोल्नै दिएनन्’ आँखाबाट बलिन्द्र धारा आँशु झार्दै आमा सानुकुमारी भन्नुहुन्छ, ‘न कसैले छोरालाई नराम्रो पो ग¥यो कि भन्ने तर्कना मात्र आइरहन्छ । एकपटक छोरासँग बोल्न पाएमात्र मनमा सन्तोष हुन्थ्यो । ’छोरा सकुशल रहेको मात्र थाहा भए मनमा सन्तोष हुने खड्का दम्पत्ति भनाइ छ ।

खड्का दम्पत्तिले आफ्नो छोरा रुपेशलाई सकुशल भए एकपटक घरपरिवारमा सम्पर्क गर्न वा उनलाई चिन्ने साथी भाईहरुले थाहा भएमा उनको बारेमा जानकारी गराउँन अनुरोध गरेका छन्। यदि छोरा आफुहरुसँग आफुहरुसँग रिसाएर वा कुनै कुरामा चित्त दुखाएर फोन नगरेको भएपनि नजिकका साथीलाई वा कसैलाई फोन गरेर सकुशल रहेको जानकारी दिएमात्र पनि मनमा सन्तोष हुने खड्का दम्पत्तिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *