मुस्ताङको खन्तीमा रोकिराखेको ट्याक्सीमा आगजनी

मुस्ताङ, १९ चैत । मुस्ताङको थासाङ गाउँ पालिका २ खन्तीमा गए राति एउटा ट्याक्सीमा आगजनी भएको छ । खन्ती गाउँ स्थित कोबाङ प्रहरी चेकपोस्ट नजिकै रहेको ट्याक्सीमा आगजनी भएको हो । राति करिब ३ बजेबाट सुरु भएको आगलागी आधा घण्टाको बिचमा नियन्त्रणमा आएको थियो । म्याग्दी समितिको ध १ ज ५१६ नम्बरको ट्याक्सीमा एक्कासि आगलागी भएको देखेपछि चालक सञ्जित शेरचनले नजिकै रहेकोे प्रहरी चौकीमा खबर गरेका थिए ।

मस्त सुतिरहेको अवस्थामा दन्किरहेको आगोको उज्यालो प्रकाश आफु सुतिरहेको कोठामा परेपछि ब्युझिएको शेरचनको भनाइ छ । पछि झ्याल खोलेर हेर्दा आफ्नै आँखा अगाडि आफ्नो ट्याक्सी जलिरहेको देखेपछि हत्तपत्त नजिकैको प्रहरी चौकीमा खबर गरेको शेरचनले बताए ।

कोबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर जिटिका अनुसार अन्दाजी ३ बजेबाट आगलागी सुरु भएको हो । लकडाउनको समयमा यसप्रकारको निन्दनीय घटना हुनु गम्भीर विषय रहेको जिटिले बताए ।

उनले अनुसन्धान सुरु गरिएको बताउदै आगलागी अज्ञात मानिसबाट भएको हो या ट्याक्सीको प्राबिधिक त्रुटिले भएको हो अनुसन्धानले पत्ता लगाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *