मुस्लिमहरुको पसलबाट तरकारी नकिन्न सांसदको अपील

नयाँदिल्ली : विश्वभरका प्रधानमन्त्री तथा मन्त्रीहरुले जातीय विभेद् नगर्ने प्रतिवद्धता जनाइरहँदा भारतीय जनता पार्टीका एक सांसदले मुस्लिमहरुको तरकारी पसलबाट तरकारी नकिन्न जनताहरुलाई आग्रह गर्दै हिँडेका छन् ।

उत्तर प्रदेशस्थित देओरिया जिल्लाका सांसद सुरेश तिवारीले जिल्लाका जनता र कार्यकर्तालाई मुस्लिमहरुले थापेको पसलबाट तरकारी नकिन्न आग्रह गरेका हुन् । कोरोना भाइरस सर्नसक्ने भन्दै उनीहरुसँग तरकारी नकिन्न सांसदले आग्रह गरेका हुन् ।

‘म सबैलाई खुला रुपमा भनिरहेको छु कि, कसैले पनि मियाहरुको हातबाट तरकारी लिनेछैन, लिनु हुँदैन,’ सांसद तिवारीले भने । सांसद तिवारीले यस्तो आग्रह गरिरहेको कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरु समेत थिए ।

उनले खुलेआम यस्तो आग्रह गरेको भिडिओ समेत सार्वजनिक भएको छ । तिवारी सत्तारुढ दल भारतीय जनता पार्टीका नेता समेत हुन् । भारतमा उनीसँगै अन्य थुप्रै जिम्मेवार नेताहरुले सार्वजनिक रुपमै कोरोना भाइरस फैलाउन मुस्लिमहरु जिम्मेवार रहेको भन्दै केहीमाथि मुद्दा समेत दायर गरिएको छ । दिल्लीस्थित तबलिगी जमातमा सहभागी मुस्लिमहरुलाई कोरोना भाइरस फैलाउने कामको जिम्मेवार ठानिएको छ । उनीहरुमाथि मुद्दा समेत दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *