यस्तो कठिन परिस्थितिमा सबै श्रमिकहरु एकजुट हुनुपर्छ : पूर्व श्रम मन्त्री विष्ट

काठमाण्डौ – पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अहिलेको अवस्थामा श्रमिकहरुबीच बलियो एकताको आवश्यकता भएको बताउनुभएको छ ।

श्रमिक दिवसको शुभकामना दिंदै उहाँले कोभिड १९ को विश्वव्यापी महामारीसँगै श्रमिक र उनीहरुका परिवारमा पर्ने समस्यासँग जुध्न सबै श्रमिकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरुको गौरवको दिन भए पनि अहिले धेरै श्रमिक समस्यामा परेको भन्दै उहाँले समस्याहरूको समाधान, सुनुवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमिकहरुमा बलियो एकता र तत्परता आवश्यक भएको र यसका लागि सबै श्रमिक सजग हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

‘कोरोना भाइरसको विश्वव्यापी असरका कारण देशभित्र र बाहिर रहेका नेपाली श्रमिकहरूको रोजगारी र सुविधामा कटौती हुने, खान नपाएर श्रमिक र उनका परिवारको जीवन जोखिममा पर्ने जस्ता समस्याहरू देखिँदैछन्’, उहाँले भन्नुभएको छ, ‘यो संकटलाई स्वावलम्बी, राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्ने सम्भावना पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *