यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि मात्रै अन्त्येष्टि

यूएई – कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि यूएईमै अन्त्येष्टि गरिएको छ । झापा अर्जुनधाराकी निता चौधरीको ज्यान गएको झण्डै दुई महिनापछि बिहीबार यूएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।

७ महिना पहिले यूएईको रोयल क्याटरिङ्ग कम्पनीमा पुग्नुभएकी चौधरीले गएको फागुन १९ गते आत्महत्या गर्नुभएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएपछि परिवारको अनुमतिसहित उहाँको यूएईमै अन्त्येष्टि गरिएको हो । तर यो सबै प्रक्रिया पूरा गर्न समय लागेको थियो ।

पहिले त परिवारले शव नेपालमा नै लैजाने भनेपछि लकडाउन लम्बिंदै जाँदा शव नेपाल लैजान समस्या भएपछि यूएईमै अन्त्येष्टिका लागि परिवारले अनुमति दिएको हो । लकडाउनअघि नै शव लैजान अनुमति दिए पनि त्यसको दुई दिनपछि लकडाउन भएकाले शव नेपाल लैजान नसकिएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासमार्फत कन्सुलर सेवा, स्थानीय प्रशासन तथा परिवारसँग आबुधावीमै कार्यरत झापाकै दुर्योधन कार्कीले समन्वय गर्नुभएको थियो । शव नेपाल लैजान नसक्ने भएपछि दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव यूएईमै अन्त्येष्टि गरिएको हो ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा २६ जनाको शव रोकिएको थियाे । बिहीबारसम्म ७ जनाको शव अन्त्येष्टिका लागि परिवारले अनुमति दिएकाले दूतावासले त्यही अनुसार अनुमतिपत्र प्रदान गरिसकेको छ । ५ जनाको अन्त्येष्टि भइसकेको छ । बाँकी दुईकाे अन्त्यष्टि भए नभएकाे जानकारी नभएकाे दूतावासले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *