रतुवाको सिकार गर्ने पाँच जना पक्राउ

दाङ – दाङको शान्तिनगर गाउँपालिका २ काे अमुवामा जङ्गली जनावर रतुवा मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले रतुवा सिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् । पाँच जनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि कार्यालयमा ल्याइएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिनुभयो ।

वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भइ खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताउनुभयो ।

मारिसकेपछि गाँउलेहरु मिलेर मासु भागबण्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खीमबहादुर केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *