रमेश खरेलको नेतृत्वमा सुरु भयो सुशासन अभियान

काठमाडौँ – पूर्व डिआइजी रमेश खरेलको नेतृत्वको ‘हाम्रो नेपाल सुशासन अभियान’को सुभारम्भ भएको छ । काठमाडौँमा एक समारोहकाबीच ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ अभियानको सुभारम्भ भएको हो । उद्घाटन समारोहमा अभियानका संयोजक खरेलले नातावाद र कृपावादको भूमरीमा फसेको मुलकको उद्धार गर्नका लागि आफूहरुले अभियान थाल्नु परेको बताए ।

‘जहाँ पनि नातावाद, जहाँ पनि कृपावाद, अब त अति भयो, यो मुलुक बनाउने अभियानमा अब हामी सबै एक भएर अघि बढ्नु छ’, खरेलले भने, ‘भ्रष्टाचारको जालो तोड्न हाम्रो लडाई सुरु भयो ।’

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजीबाट राजीनामा दिएका थिए । खरेल प्रहरी सेवामा खनाल भन्दा वरिष्ठ भए पनि उनलाई पाखा लगाइएको थियो । हाम्रो नेपाल सुशासन अभियानका लागि खरेलको संयोजकत्वमा रहेकाे केन्द्रीय तदर्थ कार्यकारी परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन् ।

सुभारम्भ समारोहमा मन्तव्य राख्दै सिटौलाले भ्रष्टाचार निवारण गरेर सुशासन स्थापना गर्नु अभियानको मुख्य उदेश्य रहेको बताए । उनले भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु परेकोले मुलुक समृद्ध बन्न नसकेको बताए । ‘भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु जस्तो पीडा अरु नहुँदो रहेछ, त्यसैले हामी ‘हाम्रो नेपाल सुशासन अभियान’ लिएका आएका छौँ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *