राजेन्द्र महतोले भने – हामी जुटी सक्यौं अब फुट्दैनौं

काठमाडाैं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन्। बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी कामपछि गर्ने बताए।

‘पहिले जनताको जीवन रक्षा गर्नुपर्‍यो,’ उनले भने, ‘लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं।’ उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे।

यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे। महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन। सम्मानजनक एकता गरेका छौं।’

नेताहरुको पद बाँडफाँट गरिएको छैन। एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनाव चिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *