राष्ट्रपतिको कदमले राजसंस्थाको आवश्यकता प्रमाणित ग-यो : राप्रपा अध्यक्ष लोहनी

काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको बताउनु भएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष लोहनीले ‘राजनीतिक स्थिरता र संविधानको मर्मविपरित आएको अध्यादेश राष्ट्रपतिले दुई घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना भएको देखिन्न, यसबाट संविधानको संरक्षण र जनताको सर्वोच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता प्रष्ट भएको छ ।’

राष्ट्रपतिको कदमले पार्टीभन्दा माथि रहेर निष्पक्ष रूपमा काम गर्ने राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट भएको पनि उहाँको तर्क छ ।‘जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्रप्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भैसकेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष लोहनीले राष्ट्रपति जस्तो सम्मानित संस्था एउटा राजनीतिक दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि क्रियाशील रहेकोमा चिन्ता प्रकट गर्नुभयो ।

‘यो कर्तव्य नेपाल सरकारले देशको राजनैतिक स्थिरता र संविधानको मर्मविपरित पठाएको अध्यादेश दुई घण्टाभित्र सही गरेर पठाएको देख्दा सम्माननीय राष्ट्रपतिबाट पालना भएको देखिएन । बरू एउटा दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि काम गरेको देखियो ।’ लोहनीको भनाइ छ ।

लोहनीले संविधानको मर्मविपरित सरकारले प्रस्तुत गरेको अध्यादेश बिना परामर्श जारी गरेर कच्चा काम भएको, यसले राष्ट्रपति पदको गरिमा घटाएको भन्दै देशमा राजसंस्था आवश्यक रहेको तर्क गर्नुभयो ।पछिल्लो राजनीतिक घटनाबाट पार्टीभन्दा माथि रहने राजसंस्थाको आवश्यकता र राप्रपाको प्रस्तावनाको औचित्य पुष्टि भएको उहाँको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *