राहतको चामल वितरणमा जनप्रतिनिधिको चलखेल

राहतका लागि नगरपालिकाले भराएको विवरणमा बिर्तामोड–५ जात्रुबारीका श्रमिक अमृतलाल चौधरीले २० किलो चामल, एक किलो दाल र एक किलो नुनमा ल्याप्चे लगाए । त्यसै बमोजिम वडाकार्यालयले खटाएका प्रतिनिधिले उनलाई राहत सामग्री पनि दिए ।

नगरपालिकाले २० केजीमा ल्याप्चे लाउन लगाएपनि तौलमा शंका लाग्यो । घर आउने बित्तिकै पुनः तौलिँदा थाहा पाए, चामल भनेभन्दा ५ किलो कम छ । ‘उचाल्ने बितिकै २० केजी छैन जस्तो लागेको थियो’, पाँच जनाको परिवार भएका श्रमिक चौधरी भन्छन्, ‘२० केजीमा हस्ताक्षर गरायो । १५ केजी मात्र दियो ।’ नगरले त्यहाँका १५३ जना श्रमिकलाई २० किलोका दरले चालम वितरण गरेको थियो । सबैको चामलमा ४/५ केजी कम छ ।

सोही ठाउँका राजेन्द्रप्रसाद बैरागीको पनि पाँच जनाको परिवार छ । दैनिक मजदुरी गरेर परिवार पाल्नु पर्ने बाध्यता छ । तर, लकडाउनका कारण काम गर्न नसक्दा यिनको परिवार भोकै थियो । यीनले पनि चौधरीले झै फारममा हस्ताक्षर गरेर मंगलबार राहत बुझे । तर, चामलचाहिँ १५ केजी मात्र । ‘राहत दिँदा ठ्याक्कै त नहोला । एक केजीसम्म तलमाथि त हुन्छ नै । तर, २० केजीमा पाँच केजी कसरी हरायो ?’, उनले भने, ‘यसरी राहत दिँदा पनि यस्तो खान खौज्छन् भने त हामी भोकै बस्थ्यौं नि ! उनीहरूलाई गरिबका नाममा किन मोटाउन दिने ?’

बिर्तामोड नगरपालिकाले प्रतिव्यक्ति चार केजी चामल दिने कार्यविधि बनाएको छ । यस्तै, दुई जनाभन्दा कम भएको परिवारलाई आधा केजी दाल र दुई जनाभन्दा धेरै भएमा एक केजी दाल र एक केजी नुन दिने कार्यविधि बनाएको छ । ८ जनाभन्दा धेरै परिवार संख्या भएको घरमा भने ३० केजी मात्र चामल दिने कार्यविधिमा उल्लेख छ । तर, जात्रुबारीका अधिकांशले पाउनुपर्ने भन्दा थोरै चामल पाएका छन् ।

‘मेरो परिवारमा तीन जनाको नाम लेखाएका थियौं । नगरपाकिाले भने जसरी त १२ केजी पाउनुपर्ने हो । म त पढ्न पनि जान्दिनँ उनीहरूले यति दिएर पठाए’, स्थानीय डोली दासले भनिन्, ‘त्यो चार केजी भए त हामीलाई झण्डै १० दिन खान पग्थ्यो । नगरपालिकाले हेर्दाहेर्दै गडबडी गरिदियो । जति दिन्छु भनेको त्यति त दिनुप-यो नि !’

राहत वितरण गर्दा चामल नजोखी वितरण गर्ने गरेको अमृतलाल चौधरीले बताए । ‘राहत लिन जाँदा लाइन उस्तै हुन्छ । त्यहाँ गएपछि चामलको थाक लगाइएको थियो’, उनले भने, ‘जोखेर दिने त कुरै हुँदैन । एउटा बाल्टी छ त्यसैले उठाएर दिन्छ ।’

राहत वितरणमा उस्तै भिडभाड छ । स्थानीलाई लाइन लगाएर राहत वितरण गरिँदैछ । गृहले यसअघि राहत वितरणको नेतृत्व स्थानीय तहले गर्ने र वितरण गर्दा एक मिटरको सामाजिक दुरी कायम गर्ने निर्णय गरेको थियो । तर, नजिकै लाइन लगाएर राहत वितरण गर्दै गरेको दृष्य देख्न सकिन्थ्यो ।

बिर्तामोड नगरपालिकाले ६ हजार ९ सय परिवारलाई एक लाख ४० हजार केजी चामल, ६ हजार नौ सय केजी तेल र नुन राहत वितरण गरेको मेयर ध्रुवकुमार सिवाकोटीले बताए । पहिलो चरणमा नगरले ६७ लाख बराबरको खाद्यान्न सामग्री खरिद गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *