राहत बुझेपछि घरमा आगलागी, आगो निभाउँदा भेटियो २५ लाख

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउँदै आएका राईले अघिल्लो दिनमात्रै नगरपालिकामार्फत राहत लिएका थिए । घर जलेपछि उनी झन् पीडित भए ।

तर, आगो निभाउने क्रममा राईको अर्को रहस्य यसरी बाहिर आयो, जो पत्याउनै मुस्किल पर्ने खालको थियो । आगो निभाउन खटिएका कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठूलो टीनको बाकस भेटे । बाकस खोलेर हेर्दा हजार र पाँचसय दरका बिटै बिटा । शुरुमा त गाड धन हो कि जस्तो लागेको थियो’, अध्यक्ष ओली भन्छन्, ‘तर होइन रहेछ, राई आफैँले त्यो पैसा राखेका रहेछन् ।’

आगो निभाउन खटिएका रेडक्रसका पदाधिकारी र प्रहरीले बाकसमा भएको पैसा गने । त्यहाँ नजलेको मात्रै हजार र पाँचसय दरको सग्लो नौ लाख रुपैँया भेटियो । जलेको तर बैङ्कमा साट्न मिल्ने थप ६ लाख रुपैँयाँ थियो । बाँकी जलेको पैसा समेत जोड्दा करिब २५ लाख रुपेयाँ हाराहारी भयो ।

राईले आफूसँग बाकसमा २४ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम, डेढ तोला सुन र १८ तोला चाँदी रहेको सुनाए । फेला परेको त्यो पैसा इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोतबारे अनुसन्धान गरिरहेको छ । कनकाई–४ का अध्यक्ष गोविन्द पौड्याल यो घटनापछि फेसबुकमा लेख्छन्, ‘अब कसको विश्वास गर्ने ? राहत लिनेकै घरमा २५ लाखको बिटो फेला परेपछि ।’

लक डाउनले बजार बन्द भएपछि उनको कमाई बन्द भएको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर राईलाई पाँच किलो चामल, दाल, तेल, नुन र सावुन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *