रोकिएन रोल्पामा विष्फोट र मृत्यु

रोल्पा : तत्कालीन माओवादी युद्धको आधार इलाका थियो रोल्पा। जहाँबाट युद्ध सुरु गरेर माओवादीका नेताहरू सत्तासीन भए। तर, रोल्पालीहरू अहिले पनि युद्धका पीडाबाट मुक्त छैनन्। २०६३ मंसिर ५ गतेको शान्ति सम्झौतापछि युद्धको विधिवत् अन्त्य त भयो, तर रोल्पामा ज्यान गुमाउने शृंखला रोकिएको छैन।

दश वर्षे युद्धताका ९ सय ६९ जना रोल्पालीले ज्यान गुमाएका थिए। बैशाख १८ गते जिल्लाको गैरीगाउँमा चार बालबालिकाको ज्यान गयो। शान्तिकालमा पनि वेवारिसे बम विष्फोटमा परेर ज्यान गुमाउनेको सूची थपिँदै गएको छ। बृहत शान्ति सम्झौतायता मात्र बम विष्फोटमा परेर सात बालबालिका र एक महिला गरी आठ जनाको ज्यान गइसकेको छ। दुई बालबालिका घाइते भएका छन्। सेनाको सातदोबाटो ब्यारेकको तारबारमा घाँस काट्न जाँदा एक महिलाको ज्यान गएको थियो।

वेवारिसे बम विष्फोटमा परेर ज्यान गुमाउने, भारी मात्रामा विष्फोटक पदार्थ भेटिने र बम पड्किरहने क्रम रोकिएको छैन। यसकै ज्वलन्त उदाहरण बनेको छ, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको मैतेगातिना चार बालबालिका मृत्यु घटना। ‘युद्ध सकिएको लामो समयसम्म पनि रोल्पाली विष्फोटमै परेर मरिरहनु परेको छ’, मानवअधिकारकर्मी घनश्याम आचार्य भन्छन्, ‘यसको अन्त्यका लागि सरकार गम्भीर बन्न आवश्यक छ।’

युद्धकालकै झझल्को दिनेगरी चार बालबालिकाको ज्यान गएको रोल्पालीले महशुस गरेका छन्। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङकाअनुसार घटनामा एकै घरका दिदीभाई ११ वर्षीय विमला र ५ वर्षीय छोरा विजय खत्री, १४ वर्षीय नोखिराम डाँगी र त्रिवेणी गाउँपालिका–४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपालीको इहलिला समाप्त भयो।

मैतेगातिनाकै झल्को दिनेगरी शान्ति सम्झौता भएको तीनमहिना लगत्तै (२०६३ फागुन) राङसीमा एक बालकको वेवारिसे बम विष्फोटमा परी मृत्यु भएको र अर्का बालक घाइते भएको अधिकारकर्मी आचार्यले जनाए। २०६३ चैत्र २ मा धबाङका ६ वर्षीय बालक विक्रम बुढाको पनि मृत्यु भयो। वेवारिसे बम विष्फोटमा परेका विक्रमको घटनास्थलमै मृत्यु भएको थियो। २०६३ चैत्र २ गतेको घटना सेलाउन नपाउँदै चैत्र ९ गते ह्वामा कर्टम गाउँमा अर्को विष्फोट भयो। जुन विष्फोटमा एक बालिका घाइते भइन्।

विष्फोटक पदार्थ लिएर माछा मार्न जाँदा कोर्चाबाङका एक बालकको पनि शान्तिकालमै मृत्यु भयो। युद्धकालमा दर्जनौं बालबालिकाको ज्यान गएको थियो। शान्तिकालमा पनि वेवारिसे विष्फोटमा बढी बालबालिकाकै ज्यान गएको छ।

हतियार र त्रास उस्तै : एक वर्षयता मात्र जिल्लाका तीन ठाउँमा युद्धकालीन विष्फोटका सामग्री फेला परे। गएको तिहारताका जिल्लाको उत्तरी कुरेली भित्रीवन पुवाखोरेको एक गोठमा लुकाई राखिएको ठूलो परिमाणमा हतियार, गोली र विष्फोटक पदार्थ फेला पारिएको थियो। त्यसको ६ महिना पश्चात् छिमेकी मिरुलको टुटुमा फागुन २८ गते दुईबोरा विष्फोटक पदार्थ फेला पारिएका थियो।

केही दिनअघि चार बालबालिकाको ज्यान गरी बैशाख १८ मा गैरीगाउँमा टुइन्च मोर्टारको सेल भेटिएको छ भने विष्फोटसमेत भयो। सेना समायोजनको उत्तरार्धमा गैरीगाउँको टिलामा कालो हिल ट्यांकीमा गाडिएको अवस्थामा ठूलो परिमाणमा हतियार फेला पारिएको थियो। सखीको जंगलमा टुईन्च मोर्टारको लञ्चर भेटिएको थियो। शान्तिकालमा यसैगरी करिब दर्जनौं पटक वेवारिसे विष्फोटक पदार्थ भेटिएको छ।

परिवर्तन गाउँपालिका–१ कुरेली भित्रीवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नै नेपाली सेनाले असोजको ११ र १२ गते नियन्त्रणमा लिएको स्थानीयले जनाएका थिए। गाउँलेकाअनुसार विगतको दशवर्षे युद्धताका यहाँ हातहतियार र विष्फोटनका सामग्री उत्पादनसमेत हुने गरेको थियो। युद्धकै बेला भण्डारण गरिएको हतियार, गोली र विष्फोटका सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए।

वैदेशिक रोजगारमा गएर गाउँ फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेताहरूलाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको थियो। गाउँलेकाअनुसार २०७६ असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिन पुगेको थियो। सो हतियार फेला परेकोबारे उतिबेला सुरक्षा निकायले औपचारिक रूपमा जानकारी दिएको थिएन।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विष्फोटक सामग्री खोजीरहेको मात्र बताएका थिए। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आठ महिनापछि आइतबार (बैशाख २१ गते) सो ठाउँमा हतियार फेला परेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

सचेतना आवश्यक : रोल्पाका दुम्ला, भाबाङ र जंकोटको सिमाना, लिस्ने, ऐपेलेक, पोबाङ, सेरम, उवा, थबाङ, गाम, पाछाबाङ, राङकोट, सुकिदह, बाङमा, मुनिमारे, दलसिङे, पाखापानी, राँक ताप्ला, डुब्रिङ र जंघा ठूला भिडन्तस्थल हुन्। यी ठाउँमा विष्फोटको सामग्री फेला पर्नसक्ने बताइएको छ। ‘भिडन्त हुँदा दुवै पक्षबाट विष्फोटक पदार्थ छुटाइएको अनुमान छ। हेलिकोप्टरबाट बम बर्साउँदा जंगलमा नपड्किएर रहेका हुनसक्छन्,’ सामाजिक अगुवा कमन बुढामगर भन्छन्, ‘ति ठाउँमा खोजबिन गरी विष्फोटक पदार्थ निस्क्रिय बनाउन सरकारले ध्यान दिनुपर्छ।’

माओवादी लडाकुका हतियार उत्पादन स्थल, भण्डारण क्षेत्र, कतिपय ओडार, जंगल, बारी, पाखाबारीमा विष्फोटक पदार्थ हुनसक्ने भएकाले तिनको खोजबिन शान्ति सम्झौतायता भएको छैन। विष्फोटक पदार्थबाट सुरक्षित हुनेबारे उनीहरूलाई विद्यालयमै पढाउन आवश्यक छ। स्थानीय तहका सरकारले पाठ्यपुस्तक नै तयार गरेर लागू गर्न आवश्यक भएको सत्प्रयास समूहका अभियन्ता कुलबहादुर डाँगी बताउँछन्। व्यापक रूपमा जनस्तरमा विष्फोटक पदार्थविरुद्धको सचेतना अभियान थालनी गर्न नागरिकको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *