रोल्पा घटनाको गहिरो अनुसन्धान गर्न नेपाली काँग्रेसको माग

काठमाडौं, १९ बैशाख । रोल्पाको त्रीवेणी गाउँपालिकामा बम विस्फोटनमा परेर चार बालबालिकाको मृत्यु भएको घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गर्दै अनुसन्धानको माग गरेको छ ।

शुक्रबार नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै निर्दोष नागरिकको मृत्यु सामान्य कुरा नभएको बताउदै त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक रहेको उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ ‘ रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको छ, द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ ।यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ । ’

नेपाली काँंग्रेसले घटनाको गहिरो अनुसन्धान गर्न पनि सरकार समक्ष माग गर्दै विज्ञप्तीमा भनेको छ ‘ जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारेर नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *