रौतहटका कोरोना संक्रमित युवककाे परिवारमा संक्रमण देखिएन

रौतहट, २ वैशाख । रौतहटको इशनाथ नगरपालिकामा बस्ने १९ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएसँगै उनको परिवारका सदस्यहरुको पनि काेराेना जाँच गरिएकाे छ । साथै उनी बस्ने गरेकाे क्वारेनटाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको पनि -यापिड डाइगोनिष्ट विधिबाट परीक्षण गरिएको छ ।

युुवकका घरका परिवार सदस्य १४ जनासहित जम्मा ३९ जनाको टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । ‘हामीले उनका परिवारका सदस्यहरु र सो क्वारेटाइमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सबैको परिक्षण गर्यौं,’ उहाँले भन्नुभयो , ‘सबैको नतिजा नेगेटिभ आयो । यो सुखद् पक्ष हो तर पनि हामी सचेत रहनैपर्छ ।’

उहाँले यसलाई सकारात्मक भन्दै कोहीमा शंकास्पद कोरोनाको लक्षण देखिए पिसिआर टेष्ट गराउने तयारी प्रशासनले गरेको बताउनुभयो । जिल्लामा कोरोना संक्रमित देखिएसँगै प्रशासनले जिल्लाका विभिन्न स्थानहरुमा -यापिड डाइगोनिष्ट टेष्ट गराउने तयारी गरिरहेको जानकारी दिँदै उहाँले जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको बताउनुभयाे । साथै भारतसँग सीमा जोडिएका स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेर निगारानी बढाउने पनि बताउनुभयो ।

यसैबीच ती संक्रमित युवकका सबै परिवारका सदस्यहरुलाई पनि क्वारेनटाइमा राखिएको छ । गत चैत्र १६ गते मध्यरातमा दिल्लीबाट नेपाल आइपुगेका उनलाई १७ गते बिहानै सोही नगरपालिकाको जनता मा.वि. औरैयाको क्वारेनटाइनमा राखिएको थियो । ती युवकलाई उनका परिवारका सदस्यले राति नै घरबाहिरै राखेर प्रहरीलाई खबर गरेका थिए ।

गत चैत्र २९ गते सो क्वारेनटाइनमा रहेका ३० जना मध्ये २५ जनाको थ्रोट स्वाव नमूना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं पठाइएकोमा उनको मात्र कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई कोरोना पोजेटिभ देखिनै बित्तिकै उनको सम्पूर्ण परिवारका सदस्यहरुलाई क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । ‘हामीले ती युवकका १४ जना परिवारलाई नै ल्याएर क्वारेन्टाइनमा राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘ती युवकको अन्य कोही गाउँलेहरुसँग भेट नभएका कारण अरुलाई क्वारेटाइनमा राख्न जरुरी भएन । तर पनि हामीले कडा निगारानी बढाइराखेका छौँ ।’

मुस्लिम समुदायका ती युवक दिल्लीबाट आए पनि उनी दिल्लीमा भएको मुस्लिम सम्मेलनमा भाग नलिएको देखिएको उहाँले बताउनुभयो । उहाँले यस बारेमा थप अनुसन्धान पनि गरिरहेको जानकारी पनि दिनुभयो ।

जिल्लामा कोरोना संक्रमित देखिएपछि जिल्लावासीहरुमा भने त्रास बढेको छ । यहाँका स्थानियहरु अब के हुने हो भन्दै अतालिएका छन् । उनीहरुले जिल्लामा भारतबाट लुकिछिपी आएका अन्य व्यक्तिहरु पनि भएको हुनसक्ने भन्दै स्थानिय प्रशासनलाई कडाइसाथ परिक्षण र खोजविन गर्न उनीहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *