रौतहटमा ९ जना पाकिस्तानी धर्म प्रचारक मस्जिद भित्रैको क्वारेन्टाइनमा

रौतहट, २५ चैत । धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर एक मस्जिद भित्रको क्वारेन्टाइनमा राखेको छ । उनीहरूलाई रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिद भित्रैको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

करिब ३ महिना अघि नेपाल आएका पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई हाल उनीहरू बसेकै मस्जिदमा क्वारेनटाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

उहाँले ती पाकिस्तानी नागरिकहरूलाई मस्जिदबाट निस्किएर बाहिर नहिड्न भनेको र उनीहरूको गतिविधिमा पनि प्रहरीले निगरानी गरिरहेको जानकारी दिनुभयो । ‘उनीहरू लकडाउन अगाडिनै विभिन्न धार्मिक कृयालापमा सहभागी हुन नेपाल आएका रहेछन्’ खड्काले भन्नुभयो, ‘हामीहरूले उनीहरूलाई मस्जिदभित्रै बसिरहन निर्देशन दिएका छौँ र निगरानीको लागि प्रहरी परिचालन पनि गरेका छौँ ।’

जिल्लामा यस्तो समूहहरू अन्यपनि रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको उहाँको भनाइ छ । उहाँले लकडाउन प्रभावकारी बनाउन जिल्लाभर प्रहरी गस्तीलाई तीब्रता दिइरहेको र बिनाकारण लकडाउन उल्लघंन गर्ने विरूद्व कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरी युनिटहहरूलाई निर्देशन पनि दिएको दावी गर्नुभयो ।

जिल्लामा हाल स्थापना गरिएको २६ वटा क्वारेन्टाइनमा १५ महिला सहित २ सय ४४ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको आशंकामा जिल्लामा हालसम्म १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको कोरोना नेगेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *