लकडाउनका कारण गाई किसान संकटमा

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ । सरकारले लकडाउनको समयमा दूध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धनलगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भने पनि व्यवहारमा त्यस्तो नभएपछि गाईपालन व्यवसाय संकटमा परेको सञ्चालकहरूले जनाएका छन् ।

पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराललगायत मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेको जनाएका छन् । लकडाउन थपिएसँगै दाना, भुसा, पराललगायत आपूर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन् ।

काठमाडाैं उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाइन छाडेपछि किसानको आक्रोश बढ्दै गएको छ । उनीहरूले खुवाउने वस्तु नभएपछि गाई नै फुकाएर छोड्ने स्थितिमा पुग्न लागेको जनाएका छन् । दाना, पराल ल्याउन नपाएपछि गाईलाई बचाइराख्ने र उत्पादित दूधको व्यवस्थापन मुख्य समस्या बनेको गाईपालकहरूले जनाएका छन् ।

खुराकको कमीले गाईको स्वास्थ्यमा प्रतिकूल असर पर्नुको साथै दूध उत्पादनमा पनि कमी आएको छ भने उत्पादित दूधको व्यवस्थापन पनि हुन नसकेको उनीहरूले जनाएका छन् । मिश्रित कृषक समूहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारीले गाईलाई बचाउन नै मुस्किल पर्दै गएको बताए ।

गाईपालक किसान प्रदीप श्रेष्ठले गाईलाई खुवाउने चारा सकिँदै गएका कारण गोठबाट गाई फुकाउनुपर्ने बाध्यता आउन लागेको बताए । उनले यस्तो संवेदनशील अवस्थालाई सरकार र सरकारी निकायले पनि संवेदनशील भएर सोचिदिन आग्रह गरे । भण्डारीको गाई फार्ममा अहिले २० वटा गाई छन् । दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दूध उत्पादनमा पनि कमी आएको उनले जनाए ।

साथै उत्पादित दूधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपरेको उनको भनाइ छ । अर्का कृषक रविन शर्माले लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरे पनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे । उनले गाईलाई खुवाउने दाना र उत्पादित दूध व्यवस्थापनको प्रबन्ध मिलाइदिए सरकारसँग अरू आशा र अपेक्षा नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *