लकडाउनका कारण जिल्लाबाहिर राेकिएका विद्यार्थीलाई नगरपालिकाले पैसा पठाउने

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले जिल्लाबाहिर रहेका नगर क्षेत्रका प्रत्येक विद्यार्थीको खातामा नगद पठाउने भएको छ । बुधबार नगरको केन्द्र त्रिपुराकोट बगरमा बसेको नगर कार्यपालिकाको बैठकले जिल्लाबाहिर रहेका प्रत्येक विद्यार्थीको खातामा पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेको हो ।

‘विद्यार्थी भनेका भविष्यका कर्णधार हुन्, अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य हो, त्यसैले पनि नेपालगन्ज, काठमाडौं, सुर्खेत, पोखरालगायतका जिल्लामा रहेका प्रत्येक विद्यार्थीका लागि पाँच हजारका दरले पैसा पठाउने निर्णय गरेका छौँ,’ उपप्रमुख चन्द्राकुमारी बुढाले भनिन् ।

सम्बन्धित वडा कार्यालयको सिफारिस र परिचयपत्रका आधारमा बैंकखाता भएका विद्यार्थीलाई जहाँ छन् त्यहीँ पैसा पठाउने र बैंकखाता नभएका विद्यार्थीको हकमा उनका अभिभावकमार्फत पठाउन लगाउने निर्णय गरिएको उप्रप्रमुख बुढाले बताइन् ।

जिल्लाबाहिर नगर क्षेत्रमा कति विद्यार्थी छन् ती सबैको सम्बन्धित वडा कार्यालयमार्फत लगत संकलन गर्न लगाइसकेको नगरपालिकाले जनाएको छ । ‘अहिलेको विषम परिस्थितिमा विद्यार्थी जहाँ छन् त्यहीँ सुरक्षित छन्, उनीहरूलाई बोलाएर थप जोखिम बढाउन चाहान्नौँ, बरु तत्काल समस्या समाधान गर्न प्रतिविद्यार्थी पाँच हजारका दरले पैसा हाल्ने निर्णय गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत पृतिभक्त गिरीले भने ।

‘अहिले एक महिना पुग्ने गरी पाँच हजार पठाएका छौँ, त्यसपछि अझै लकडाउन लम्बियो र थप समस्या पऱ्यो भने फेरि पनि पाँच हजार पठाउँछौँ । त्यति मात्र नभई घर आउन चाहने विद्यार्थीलाई पनि ल्याउँछौँ, नेपालगन्ज र सुर्खेतबाट घर फर्कन चाहनेका लागि दुई हजार र त्योबाहेकका अन्यत्र जिल्लाबाट घर फर्कन चाहने विद्यार्थीका लागि तीन हजार हाल्नेसमेत निर्णय भएको छ,’ गिरीले थपे ।

विद्यार्थीबाहेक कामविशेषले जिल्लाबाहिर गएर लकडाउनमा परेका नगरपालिकाका अन्य सर्वसाधारणलाई पनि नगरपालिकाकै खर्चमा घरसम्म ल्याउने व्यवस्था गरिएको गिरीले बताए । जिल्लाबाहिरबाट आएका सबैका लागि नगरपालिकाअन्तर्गत वडा नं. ५ मा पर्ने करोपगाडमा क्वारेन्टाइन निर्माण गरी १४ दिन राख्नेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ ।

लकडाउन भए पनि धेरैजसो शैक्षिक संस्थाले अनलाइन कक्षा धमाधम सञ्चालन गरिरहेकाले घर झिकाउँदा पढाइ नबिग्रियोस् भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *