लकडाउनका कारण भाेकै परेका पशुपंक्षीका लागि १२ धार्मिक संघ-संस्थाद्वारा ध्यानाकर्षण

२१ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै संकटको घडी रहेको वेला नेपाल सरकारले पनि यसको रोगथाम तथा नियन्त्रणको लागि लकडाउन गरेको छ । यस क्रममा विभिन्न धार्मिक स्थल, पाटीपौवा लगायत स्थलमा पशुपंक्षीहरु भोकै परेको भन्दै विभिन्न १२ वटा धार्मिक संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘कोभिड १९ को रोकथामका निम्ति नेपाल सरकारले गरेको लकडाउनका कारण सबै व्यवसाय, होटेल, रेष्टुरेन्ट तथा धरै जसो पसलहरु बन्द छन् । मठ, मन्दिर, गुम्बा, पाटीपौवा तथा सडकमा बस्ने पशुपन्छीलाई यसको प्रत्यक्ष असर परेको छ,’ ती संस्थाहरुद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘अन्य समयमा होटेल, रेष्टुरेन्ट, पसल तथा व्यक्तिहरुले फालेको वा दिएको खाना खाँदै आएका यी पशुपन्छीहरुको अहिलेको अवस्था दयनीय छ । पशुकल्याणका निम्ति कार्यरत संघसंस्था तथा पशुपन्छी प्रेमीहरुले काठमाडौं, ललितपुरलगायत उपत्यकाभित्रका केही ठाउँमा यस्ता सहाराविहीन प्राणीहरुलाई खाना तथा पानी खुवाइरहेको भए तापनि यसका निम्ति सरकारी जिम्मेवारी तथा सहयोग अत्यावश्यक छ ।’

शान्तिका लागि अन्तरधार्मिक अभियान, अन्तर धार्मिक शान्ति महासंघ नेपाल, वैदिक सनातन कर्मकाण्ड महासंघ नेपाल, श्रीकृष्ण प्रणामी मूल मन्दिर, अखिल बुद्धिष्ट महासंघ नेपाल, क्रिष्टियन महासंघ नेपाल, नेपाल मुस्लिम महिला कल्याण समाज, किंराँत धर्म तथा संस्कृति अध्ययन केन्द्र, अस्सलाम सोसाईटी, ब्रह्म कुमारी राजयोग सेवा केन्द्र, फ्रिडम फर अल र बिन्दवासिनी मन्दिरले जारी गरेको संयुक्त विज्ञप्तीमा बेवारिसे र भोकै परेका पशुपंक्षीको रेखदेख गर्न अनुरोध गरिएको छ ।

‘हाम्रो धर्म, संस्कृति तथा सामाजिक मूल्यमान्यताहरु पशुकल्याणमा समर्पित छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘सामान्य अवस्थामा झैँ दैवीप्रकोप तथा महामारीको बेलामा पनि आफ्ना नागरिकलगायत पशुपन्छीको रेखदेख तथा उद्धार गर्ने धर्म र जिम्मेवारी राज्यको भएकोले हामी विभिन्न धर्मका धर्मगुरु तथा अनुयायीहरु सरकारको ध्यानाकर्षण गराउदछौं ।’

मठ, मन्दिर, गुम्बा, पाटीपौवा तथा सडकमा बस्ने पशुपन्छीलाई यस संकटको घडीमा खाना, पानी तथा स्वास्थ्य उपचारको यथाशिघ्र व्यवस्था गर्न र देशैभरका पशुकल्याणका निम्ति कार्यरत संघसंस्था तथा पशुपंन्छी प्रेमीहरुलाई लकडाउनको अवधिभर खाना खुवाउन तथा औषधोउपचारको लागि आआफनो क्षेत्र, जिल्लाभित्र आवतजावत गर्न अनुमति दिन समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *