लकडाउनको ५२ औँ दिन, पुनः कडाइ

काठमाडौं । देशमा चैत ११ गतेबाट लागू गरिएको लकडाउनको बिहीबार ५२ दिन पूरा भएको छ । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ ।

लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरिएको छ ।

बिहीबार उपत्यकाका सडकमा सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ । सडकमा मानिसको आवागमन पनि न्यून देखिएको छ । अत्यावश्यक सेवाका साधन, उपभोग्य वस्तुका साधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाड्ने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ ।

उपत्यकाका भित्रि सडकमा अत्यावश्यक उपभोग्य खाद्य पसल खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्रि सडकमा स्थानीयले बाटो बन्द गरेका छन् । अनावश्यक सवारी सधनको आवागमन भित्रि सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निषेध लेखिएका ब्यानर बाटोमा राखिएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म २ सय ४५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन् भने २ सय ४५ जना आइसोलेसनमा छन् । हालसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । हालसम्म देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *