लकडाउनमा किसानलाई जौं काट्ने चटारो

मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउनको कुनै प्रवाह नगरी खेतबारीमा रोपेको जौं काट्न किसानलाई चटारो भएको छ।

अघिल्ला वर्षमा कार्तिक महिनामा खेतबारीमा छरेको जौं वैशाख महिनाको दोस्रो सातासम्म किसानले भित्र्याइसक्थे। यो वर्ष भने लकडाउनका कारण वैशाख तेस्रो साता बितिसक्दा पनि जौं भित्र्याउन चहलपहल भएन। लकडाउन खुलेपछि मात्र जौं भित्र्याउने आशमा बसेका किसान लकडाउन लम्बिएसँगै जौं काट्ने चटारोमा छन्।

छाँयानाथ रारा नगरपालिका-४ कि किसान ठेकबहादुर रोकायाका अनुसार लकडाउन खुल्ने छाटकाट नभएपछि अहिले किसानलाई जौ काट्न भ्याइनभ्याइ छ। अगिल्ला वर्षमा यति बेलासम्म खेतमा धान र कोदोको बेर्ना तयार भइसक्थ्यो।

लगातारको वर्षाले समेत यो वर्ष समयमै जौं पाक्न पाएको छैन। वर्षाले जौं पाक्न नपाएपछि पशु चौपायाका लागि भएपनि काट्न सुरु गरेको अर्का किसान प्रकाश रोकायाले बताए। कृषि कार्यालय मुगुका प्रमुख केबी रोकायाका अनुसार यो वर्ष चिसो नघटेका कारण समयमै हिउँदेबाली पाक्न नसकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *