लकडाउनमा बसेकी दिव्याले ससुरा, बहिनी र २ छोरालाई मारेर आत्महत्या गरिन्

काठमाडौं। भारतको उत्तर प्रदेशको एटामा शनिबार बिहान एकै परिवारका ५ सदस्यको लाश घरभित्रै भेटिएपछि सनसनी फैलियो । यो घटनामा पुलिसले अझै आश्चर्यजनक खुलासा गरेको छ । पुलिसका अनुसार घरकै एक महिलाले परिवारका अन्य सदस्यलाई विष खुवाएर हत्या गरेकी थिइन् । उनले १ वर्षका छोराको घाँटी थिचेर हत्या गरेको खुलासा भएको छ । आरोपी महिलाले घरमा कोही जीवित नबचुन् भन्ने सुनिश्चित गर्न चाहन्थिन् ।

पुलिसले ती महिलाले घरका चारैजना सदस्यको हत्या गरेपछि आफ्नो नशा काटेर तथा हार्पिक पिएर आत्महत्या गरेको पुलिसले बताएको आज तकको समाचारमा जनाइएको छ । शनिबार दिउँसो गरिएको पोष्टमार्टममा १ वर्षका बालकको घाँटी थिचेर हत्या भएको तथा अन्यको विषका कारण मृत्यु भएको पाइएको हो । एटाका एसएसपी सुनिल कुमार सिंहका अनुसार यो सबै घटना बुहारी दिव्याले घटाएको पाइएको छ ।

शनिबार बिहान एटाको श्रृंगार नगरमा पूर्व स्वास्थ्य अधिकारी राजेश्वर प्रसाद पचौरीको घरमा दूध लिएर जाने व्यक्तिले बिहानै घरमा राजेश्वर प्रसाद पचौरीसहित उनकी बुहारी दिव्या पचौरी, दिव्याकी बहिनी बुलबुल, दिव्याका ८ वर्षका छोरा आरुष र १ वर्षका छोरा आरभलाई मृत अवस्थामा देखेका थिए । राजेश्वरका छोरा तथा दिव्याका पति दिवाकर पचौरी उत्तराखण्डमा एक औषधी कम्पनीमा काम गर्छन् । घरमा यिनै ५ जना बस्थे ।

पुलिसले दिव्याले यस्तो किन गरिन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । उत्तराखण्डमा रहेका दिव्याका पति दिवाकरसँग पुलिसले कुरा गरेको छ । दिवाकरले परिवारमा आफूले जानेसम्म दिव्याको कुनै रिसइबी नभएको बताएका छन् । दिवाकरको जानकारीमा नभएको कुनै रिसइबी हुन सक्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *