लकडाउनमा सवारी पास बनाएर उपत्यका छिरेका थिए तीन संक्रमित

काठमाडौं । काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित लकडाउनकै समयमा सवारी पास बनाएर उपत्यका छिरेको पाइएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्।

ती मध्ये काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ। लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी थिइन् । उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन्।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेको पाइएको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराईबाट आएका थिए। केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *