लकडाउनमा सवारी पास लिएर सडकमा शान देखाउनेमाथि ट्राफिकले निगरानी बढायो

काठमाडौं ३, बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुद्वारा पासको दुरुपयोग बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न थालेको छ ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच गर्दै कारबाही अघि बढाएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएको र अब त्यस्ता सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताउनुभयो ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ सवारी साधन होल्ड तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अनावश्यक हिंडडुल गर्न र पासको दुरुपयोगसमेत रोक्नका लागि सिभील प्रहरी खटाउनुको साथै सीसीटीभीबाट समेत निगरानी भइरहेको बताउनुभयो ।

लकडाउनको अवधिमा मापसे गरी सवारी चलाउने, तीब्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अवधि भर होल्ड गरिने बताउनभुयो ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको ट्राफिक महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *