लकडाउन उल्लंघन भएको भन्दै भैरहवामा सेना परिचालन

भैरहवा- सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गनेको संख्या बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ। सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। कार्यालयका अनुसार प्रहरीको अनुरोध र कारबाहीलाई स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेनाको परिचालन गरिएको हो।

सेनाले सहरको मुख्य बजार क्षेत्रमा गएर पसल बन्द गर्न आदेश दिएको थियो। साथै शहरका मुख्य सडक र चौकभरि सेनाको गस्ती भइरहेको छ। भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक लगायत क्षेत्रमा लकडाउनको समयमा अवज्ञा बढी हुने गरेको पाइएको छ। बजारमा पुग्नेहरुले सामाजिक दूरीसमेत कायम नगरी हिड्ने गरेका छन्।

दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल बढ्ने गरेको थियो। भैरहवाको गल्लामण्डी, हनुमान मन्दिर, शान्तिनगर, खजुरीया, भैरहवा गाउँ, डाँडागाउँ, बिपीपथ, उदयपुर, गोलीगढ लगायतका मुख्य स्थानमा लकडाउनको ठाडो उल्लंघन हुँदै आएको प्रशासनले बताएको छ।

नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ। भारतीय बजार सुनौली लगायत खुल्ला सिमानाका कारण रुपन्देही कोरोना भाइसरका कारण जोखिममा परेको छ।

भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा तैनाथी बढाएको छ। सीमावर्ती भारतीय क्षेत्रमा कोरोनाको संक्रमण बढेपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कने क्रम बढेपछि सेनालाई पनि गस्ती तथा चेकजाँचमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका पन्थले भने, ‘सेनाको सुरक्षा गस्ती बढाइएको छ। आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि हुन्छ।’

सेना नै सडक चेकजाँचमा आएपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ। केही दिनयता नेपाल प्रहरीको सुरक्षा तैनाथी बढेको भए पनि प्रभावकारी हुन सकेको थिएन।

सेनाले सरकारले निर्दिष्ट गरेका सवारीसाधन एम्बुलेन्स, सुरक्षाका गाडी, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी बाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ।

नेपाल प्रहरीलाई नटेरी लकडाउनको समयमा पनि साना सवारीसाधन लिएर मान्छे ओहोरदोहोर गर्ने क्रम बढेपछि सेनाको सुरक्षा चेकजाँच र गस्ती बढाइएको सुरक्षा अधिकारीहरुले बताएका छन्। नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *