लकडाउन खुकुलो पार्दै भारत, नेपाल भने अझै कडाई गर्ने पक्षमा

काठमाण्डौ । भारतले जारी लकडाउनलाई मे ३ पछि खुकुलो पार्ने तयारी गरेको छ । भारत लकडाउनलाई खुकुलो पार्ने तयारीमा जुट्न थाले पनि कोरोना भाइरसका कारण त्यहाँभन्दा कम क्षति भएको र सामान्य अवस्था रहेको नेपालमा भने तत्काल लकडाउन नखुल्ने संकेतहरु देखिन थालेका छन् ।

भारत सरकारको लकडाउन खुकुलो पार्ने रणनीति बुझेको एयर इण्डियाले शनिवारदेखि नै मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्राष्ट्रिय बुकिङ खोल्ने घोषणा गरिसकेको छ ।

कोरोना भाइरसका कारण भारतले लकडाउन घोषणा गरेपछि रोड यातायातदेखि भारतबाट हुने आन्तरिक तथा बाह्य उडान सेवा समेत ठप्प छ ।
नवभारत टाइम्सका अनुसार भारतको केन्द्रीय सरकारका अधिकांश मन्त्रीहरु मे ३ पछि आन्तरिक उडान सुचारु गर्ने मूडमा देखिएका छन् । यसरी उडान सुरु गर्दा केही शर्तहरु भने राखिने एक मन्त्रीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

यस्तै, त्यहाँका मन्त्रीहरुले २० अप्रीलपछि कोरोना भाइरसको संक्रमण न्यून रहेका क्षेत्रहरुको आर्थिक गतिविधि समेत सुचारु गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो सम्बोधनमा कोरोना संक्रमणको घटना न्यून रहेका क्षेत्रमा क्रमशः लकडाउन हटाइने घोषणा गरेका थिए ।

मन्त्रीहरुबीच शनिवार बैठक भएको समाचार जनाइएको छ । रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा चलेको ग्रुप अफ मिनिस्टर्सको बैठकले मे ३ पछि सुरक्षित इलाकाहरुको आन्तरिक उडान खुलाउन सकिने निर्णय गरेको छ । भाइरस फैलने खतरा कम रहेको क्षेत्रमा आन्तरिक उडान सुरु गर्न सकिने भए पनि केही दिनसम्म रेल तथा सडक यातायात सेवा भने बन्दै गर्नुपर्नेमा मन्त्रीहरु एकमत देखिएका समाचारमा उल्लेख छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार ३६५ पुगिसकेको छ भने मृतकको संख्या ५२१ पुगेको छ । कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भारतले लकडाउन खुलाउने योजना बनाउन थाले पनि ३१ जना संक्रमित फेला परेको नेपालको सरकार भने यो विषयमा मौन देखिएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा मौलिक उपाय अपनाउन नसकेको सरकारले धेरैजसो रणनीति भारतलाई हेरेर बनाउने गरेको छ । यहीकारण समेत हुनसक्छ नेपाल सरकारले संक्रमणको जोखिम कम हुँदा पनि अर्थतन्त्र बर्बाद पारिरहेको लकडाउनलाई खुकुलो बनाउने र पर्याप्त सचेतनासहित आर्थिक गतिविधि सुचारु गर्ने आँट गर्न सकिरहेको छैन ।

शनिवार साँझ राज्यबाट संचालित सीमित मिडियाका पत्रकारहरुलाई अन्तर्वार्ता दिन बालुवाटार बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण फैलन नदिन बन्दाबन्दी(लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना संक्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा संक्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने प्रष्ट पारे ।

सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस संक्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै उनले भनेका छन्, “अब यसले हामीलाई झुक्याउन सक्दैन । ”

उनले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताए ।

लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा संक्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने समेत बताएका थिए ।

उनले ८० करोड बराबरको राहात वितरण गरिसकेको, दशगजामा अलपत्र परेर बसेका नेपालीलाई तत्काल देशमा नभित्र्याइने, स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार भएको भए छानबिन गरिने जस्ता अनेकन प्रसंग कोट्याए पनि उनले लकडाउनको अन्त वा यसको विधि तथा मोडलको विषयमा भने कुनै कुरा गरेका छैनन् । संक्रमण नै नभएका क्षेत्रमा लकडाउन विस्तारै खुलाउने विषयमा समेत उनको कुनै पनि योजना सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री ओलीको भनाईलाई आधार मान्ने हो भने नेपालको लकडाउन कम्तीमा बैशाखसम्म रहने प्रष्ट देखिन्छ । भारतले बैशाख २१ गतेसम्म लकडाउन जारी राख्ने घोषणा गरेको छ । त्यसपछि पनि केही दिन बढायो भने बैशाख अन्तसम्मको हाराहारीमा पुग्ला । ओलीको संकेत हेर्दा भारतलाई पछ्याउनुको विकल्प नेपालसँग छैन भन्ने बुझिन्छ ।

तर, यो बुझाई गलत छ । कोरोना भाइरसबाट सयौंको मृत्यु भई हजारौं संक्रमित भएको मुलुक र अत्यन्त न्यून जोखिम रहेको मुलुकले बनाउने लकडाउन अन्त तथा आर्थिक गतिविधि सुचारुको मोडल एउटै हुनैसक्दैन ।

धेरै अर्थविदहरुले भारतसँगको सीमा नाका ठप्प पारी अन्तर्राष्ट्रिय उडान समेत केही समयसम्म सुचारु नगरी जोखिम कम रहेका क्षेत्रमा आर्थिक गतिविधि सुचारु गर्दा हुने सुझाव दिइरहेका छन् । स्वास्थ्यविज्ञहरुले समेत यस्तो सुझावमा समर्थन गरिरहेका छन् । तर, सरकार भने भारतीय रणनीति हेरेर बसेको जस्तो देखिन्छ ।

बैशाख १५ पछि आन्तरिक उडान शर्तसहित सुचारु गर्न दिने, कम जोखिम भएका र एउटा पनि संक्रमित नरहेका क्षेत्रको आर्थिक गतिविधि सुचारु गर्न दिने, बरु एक प्रदेशबाट अर्को प्रदेशको आवतजावत केही समयसम्मका लागि बन्दै गर्ने, लामो दूरीको सडक यातायात केही समयसम्म ठप्पै राख्ने लगायतका काम गर्न सकिने संभावना भए पनि यसतर्फ सरकारले कुनै छलफल नै अगाडि बढाएको छैन ।

कोरोना भाइरसको संक्रमणले तहसनहस भएका इटली, स्पेनजस्ता देशहरु, संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढिरहेको इरान लगायतमा लकडाउन खुकुलो बनाउने, सुरक्षित क्षेत्रको बजार खोल्ने, आर्थिक गतिविधि सुचारु गर्ने, स्कूलहरु लगाउने लगायतका निर्णय भइसकेको छ । तर, कोरोना संक्रमणको जोखिम अत्यन्त न्यून रहेको मुलुकको सरकार(नेपाल सरकार) भने आँटले निर्णय लिन सकिरहेको छैन ।

यहाँ लकडाउन एकैपटक सबैतिर खोली जोखिम लिनुपर्छ भन्न खोजिएको होइन । तर, यूरोप र अमेरिका तथा भारतलाई मात्र पछ्याएर नेपालमा संक्रमणको अवस्थाको सही विश्लेषण नै नगरी बढी अत्तालिने अवस्था पनि ठीक होइन ।

नेपाल सरकारले आफ्नो देश, भूगोल अनुकुल हुने गरी लकडाउन खुकुलो बनाउने, न्यूनतम आर्थिक गतिविधि सुचारु गर्ने विषयमा रणनीति बनाउन थालिहाल्नुपर्ने देखिन्छ । लकडाउन लम्ब्याएर मात्र कोरोना संक्रमण पूर्ण नियन्त्रण हुने होइन । यसबाट अर्थतन्त्रमा पर्ने असर, देशबासीको दैनिक जीवन र अर्थतन्त्रमा पर्ने असरमा समेत सरकारको ध्यान जान आवश्यक छ ।

कोरोना भाइरस संक्रमणबाट ग्रसित देशहरुले अरबौंका आर्थिक प्याकेज घोषणा गरिसकेका अवस्थामा नेपालले भने लकडाउन लम्ब्याउने विषयमा मात्र आफ्नो ध्यान केन्द्रीत गर्नु लाजमर्दो पक्ष हो । क्षतिग्रस्त अर्थतन्त्र, उद्योग व्यवसायलाई त्राण दिने गरी तत्काल आर्थिक प्याकेज ल्याउन ढिला भइसकेको छ भने लकडाउनको अन्त कसरी गर्ने भन्ने विषयमा छलफल गर्न पनि अबेर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *