विकासमा प्रधानमन्त्री ओलीको आयो यस्तो अठोट

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ नेपालीको लागि ऐतिहासिक वर्ष हुने बताउनुभएको छ । यो वर्षले संविधान कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र सदृढिकरणमा स्पष्ट मार्गनिर्देश गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

नेकपा काठमाडौंले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्न २०२१ उपलब्धिपूर्ण हुने बताउनुभयो । ‘यस वर्षले हाम्रो राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रतालई अझ मजबुत बनाउने छ, भौगोलिक अखण्डतालाई अझ सुदृढ बताउने छ’, उहाँले भन्नुभयो ।

उहाँले यसै वर्ष कोरोना नियन्त्रण गरेर अगाडि बढिने बताउनुभयो । कम्बोडियाले आफैंले प्लेन चार्टर गरेर आजमात्रै औषधि पठाएको उहाँले जानकारी दिनुभयो । यो अन्तराष्ट्रिय सम्बन्ध सुधारको प्रतिक भएको उहाँले बताउनुभयो ।

तीनदिन अगाडि मात्र उर्जा सचिवको नेतृत्वमा नेपाली टोली भारत गएर चाँदनी दोधारामा सारदा नहरबाट नेपाललाई पानी दिने व्यवस्था मिलाएर आएको उहाँले जानकारी दिनुभयो । अब ६ महिनाभित्र काम थाल्ने र चाँदनी दोधाराले सारदा क्यानलबाट सिँचाई पाउने सहमति भएको उहाँले बताउनुभयो । ‘अब हामी नहर बनाउँछौँ, पानी ल्याउँछौँ’, उहाँले भन्नुभयो ।

रक्सौल–काठमाडौं, केरुङ–काठमाडौं रेलमार्गको काम पनि सुरु भएको उहाँले बताउनुभयो । रेमार्गको सर्वे भइसकेको उहाँले जानकारी दिनुभयो ।

देश सुरुङ मार्गमा प्रवेश गरेको र सुरुङ निर्माणको काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । टोखा–छहरे, बेत्रावती– स्याफ्रुबेसी सुरुङमार्गको पनि काम अघि बढेको उहाँले बताउनुभयो । ‘अब सुरुङ हेर्न विदेश जानुपर्दैन, यहीँ थानकोटमा हेर्न गएहुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सुनकोसी मरिण डाइभर्सनको सुरुङ बनाउने काम सुरु भएको उहाँले बताउनुभयो । ‘ठेक्का सम्झौताको काम अघि बढेको छ, अब बिजुली र सिँचाई एकैचोटी हुन्छ’, उहाँले भन्नुभयो ।

हुलाकी राजमार्ग निर्माण भएको, अन्य थुप्रै सडक चौडा गर्ने र स्तरोन्तीका काम अघि बढेको उहाँले जानकारी दिनुभयो । आफ्नो पालामा ४ सय भन्दा बढी पुल बनि सकेका र यो क्रम अझै निरन्तर रहेको उहाँले बताउनुभयो ।

भूकम्पले क्षति भएका निजी आवास तथा विद्यालय लगायतका सार्वजनिक संरचना निर्माण भएको उहाँले बताउनुभयो । तराईमा फुसका छाना हटाएर पक्कि घर बनाउने अभियान नै सरकारले चलाएको उहाँले जानकारी दिनुभयो । यसलाई निरन्तरता दिने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *