विदेशबाट आएपछि १४ दिन क्वारेन्टाइन बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका वा अन्तर जिल्ला आवतजावत गर्ने सबैले आफ्नै खर्चमा अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ। यसरी १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएको खण्डमा पिसिआर परीक्षण गराउने समेत निर्णय मन्त्रालयले गरेको हो।

विदेशबाट आउँदा, उपत्यकाबाहिर जाँदाआउँदा, एक जिल्लाबाट अर्को जिल्ला आउनेजाने व्यक्तिलाई लक्षण नदेखिए १४ दिनपछि पिसिआर गर्नु नपर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिजेन परीक्षण गर्न बनेको निर्देशिका स्वीकृत गर्ने निर्णय भएको समेत जानकारी दिएका छन्। उनले भने, ‘निर्देशिका परिमार्जनसहित स्वीकृत भएको छ। अहिले भइरहेको आरटी पिसिआर महँगो, लामो समय लाग्ने र नतिजा आउन समय लाग्ने भएकाले सेन्सेटिभिटी राम्रो भएको एन्टिजेन परीक्षण पनि गर्ने निर्णय भएकोले निर्देशिका बनाइएको हो।’

मन्त्रालयले खोप सल्लाहकार समितिसँग कोभिड-१९ विरुद्धको खोपका सम्बन्धमा राय लिने भएको छ। प्रवक्ता गौतमले खोप ऐनमा व्यवस्था भएअनुरुप बनेको सो समितिमा कोभिड-१९ सम्बन्धी बनेको खोपबारे राय लिने निर्णय भएको जानकारी दिए।

त्यसैगरी, मन्त्रालयले कोभिड-१९ बहुक्षेत्रीय प्रतिकार्य योजना तयार गर्न राष्ट्रिय योजना आयोगलाई अनुरोध गर्ने भएको छ। कोभिड-१९ उपचार, रोकथाम र नियन्त्रण गर्न सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कुनै बिरामीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भएमा पिसिआर रिर्पोट नपर्खी सुरक्षाका उपाय अपनाई शल्यक्रिया गर्न निर्देशन दिएको छ।रिर्पोट पर्खदा बिरामीको ज्यान गएमा अस्पताल र चिकित्सक जिम्मेवार हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ। पिसिआर रिर्पोट पर्खदा केही बिरामीको ज्यान गएको गुनासो मन्त्रालयमा आएको भन्दै यस्तो निर्देशन दिएको प्रवक्ता गौतमले जानकारी दिए।

मन्त्रालयले इलेक्टिभ शल्यक्रिया पिसिआर गरी रिर्पोट आएपछि गर्न सकिने तर आकस्मिक उपचार र शल्यक्रिया गर्नुपर्ने भएमा पिसिआरका लागि पठाई रिर्पोट नपर्खी सुरक्षाका उपाय अपनाएर गर्नुे व्यवस्था पहिल्यै निर्देशिकामा उल्लेख भएको सबै अस्पताल र चिकित्सकलाई पुनः ध्यानाकर्षण गराएको छ।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय ७४औँ मिटिङ अगामी वर्ष काठमाडौंमा हुने यसअघि नै तय भएको समेत स्मरण गराए।प्रवक्ता गौतमले यस वर्ष ७३औँ मिटिङ सिंगापुरमा गर्ने भनी तय भएको भर्चुअल रुपमा भएको भदौ २४ र २५ गते भएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको नेतृत्वको प्रतिनिधि मण्डलले यो मिटिङमा भाग लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *