विद्यालय जाने उमेरमा परिवार चलाउदै कुसुम

झापा कमल गाउँपालिका–१ सन्थाल बस्तीकी कुसुम हस्दा (१३)को हातमा कलमकापी लिने उमेर छ । तर, उनको हातले दैनिक कुटो, कोदालो समाउनुपरेको छ । किताब, कापीसँग सम्बन्ध टुटेको दुई वर्ष भयो । बाँसबारी माविमा कक्षा–४ मा पढ्दै गर्दा विद्यालयसँगको सम्बन्धमा पूर्णविराम लाग्यो ।

पढाइ छाड्नु उनको रहर हैन, बाध्यता हो । घरमा बुबाआमा त छन् । तर, परिवारको जिम्मेवारी कुसुमको काँधमा छ । बुबाको भर छैन । आमा बिरामी छिन् । एउटी बहिनी र भाइको आवश्यकता पूरा गर्नेदेखि आमाको औषधि किन्नेसम्म उनले जिम्मेवारी निभाउनुपरेको छ । ‘बुबा त हुनुहुन्छ । तर, सधैँ रक्सी खाएर झगडा मात्र गर्नुहुन्छ । उहाँले कमाएकोे रक्सी खानै पुग्दैन । कहिलेकाहीँ त रक्सी खाएको पैसा पनि मैले नै तिरिदिनुपर्छ,’ उनी भन्छिन्, ‘आमालाई डिप्रेसन भएको छ रे ! दबाई मैले नै किन्नुपरेको छ । एक दिन दबाई नखाँदा अर्कै कुरा गर्नुहुन्छ ।’

सीमान्तकृत सन्थाल समुदायकी हस्दालाई पढ्ने रहर छ । तर, परिवार चलाउने बाध्यताका कारण उनले पढ्नै पाएकी छैनन् । गाउँका सँगैका साथी विद्यालयको पोसाक लगाएर जाँदा उनको मन अमिलो हुन्छ । ‘मैले गरिनँ भने आमा, भाइबहिनीले खानै पाउँदैनन् । बाध्यता छ । स्कुल जान त किन मन लाग्दैन र ! पढेर ठूलो मान्छे बन्ने सपना छ । सुकुम्बासी बस्तीमा रहेको परालको छानो भएको घरमा टिन लगाउने मन छ,’ उनी भन्छिन्, ‘सँगैका साथी स्कुल जान्छन् । मलाई नि जान मन लाग्छ । अरू स्कुल गएको देख्दा कति रुन मन लाग्छ । म त कसरी पढ्ने ? घरको अवस्था यस्तो छ ।’

उनी अहिले घर चलाउन दैनिक अरूकोमा खेताला जान्छिन् । धान रोप्न, मकै गोड्नेलगायत खेतबारीमा काम गर्नु त उनको दैनिकी नै भइसक्यो । ‘खेताला जाँदा दिनको चार सय हुन्छ । यसले घर चलाउन पुगेको छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ बिरामी हुन्छु । त्यो वेला त खाना खान पनि पाइँदैन ।’

खान नपाउँदा विद्यालय जाँदैनन् भाइ–बहिनी : कुसुमकी ११ वर्षीया बहिनी कृतिका र नौ वर्षीय भाइ मुकेशले भने पढाइ छाडेका छैनन् । तर, विद्यालय भने निरन्तर छैन । घरको आर्थिक अवस्थाका कारण उनीहरूको पढ्ने इच्छा निराशामा बदलिँदै गएको छ । घरमा खाना नपाकेको दिन उनीहरू विद्यालय जाँदैनन् । उनीहरूको जानेभन्दा नजाने दिन नै धेरै हुन्छ ।

‘घरमा खाना पाक्दैन । स्कुलमा भोकै भइन्छ । त्यही भएर जानै मन लाग्दैन,’ कृतिका भन्छिन्, ‘धेरैजसो त जाँदैनौँ । जान मन लाग्छ, तर, भोक खप्न सकिँदैन ।’ सँगैका साथीहरू विद्यालयमा दैनिक खाजा खाने पैसा लिएर आउँछन् । तर, उनीहरूसँग कापी कलम किन्ने पनि पैसा हुँदैन । ‘कापी किन्न पैसा पनि हुँदैन । त्यसैले, पनि स्कुल जान मनै लाग्दैन’, उनले भनिन् । उनीहरूलाई सहयोगको आवश्यकता रहेको छिमेकी मीना कार्की बताउँछिन् ।

‘यहाँ सबैभन्दा दुःख पाएका यिनीहरू नै हुन् । कुसुम पनि पढ्न साह्रै मन गर्छे,’ उनी भन्छिन्, ‘तर, पढ्ने अवस्था नै छैन । कहिलेकाहीँ आमाको औषधिका लागि हामीले नै सहयोग गर्दै आएका छौँ ।’ कुसुम पनि बहिनी र भाइको पढाइकै लागि आफूले दुःख गरिरहेको बताउँछिन् । ‘मैले त पढ्न पाइनँ, पाइनँ । यिनीहरूलाई त पढाउँ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘तर, सधैँ कहाँ भनेजस्तो हुँदो रहेछ र ? जति दुःख गरे पनि पुग्दैन ।’

कापी, कलम किन्न नसक्दा ‘ड्रप आउट’: सोही ठाउँको किस्नी खोलाको डिलमा छाप्रो छ । परालले छाएको उक्त छाप्रो दुई कोठाको छ । सुकुम्बासी बस्तीमा रहेको यो घरमा दुई कोठा छन् । तर, एकपट्टि टाटी भत्किएको छ । त्यही घरमा बस्छन् सम टुडु । उनको घरले प्रधानमन्त्रीको उद्घोषलाई गिज्याइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार फुसको छानो हटाउने र टिनको छानो लगाउने बताउने गरेका छन् । तर, प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा यस्तो घर छ ।

टुडुका तीन छोरी छन् । तीनैजनालाई तीन वर्षअघिसम्म उनले विद्यालय पठाए । तर, अहिले आर्थिक अभावका कारण उनले छोरीहरूलाई पढाउन सकेका छैनन् । घरसमेत राम्ररी बनाउन नसकेका टुडुलाई छोरी पढाउन निकै मुस्किल छ । ‘अहिलेको जमाना पढाइको छ । हामी त यस्तै भयौँँ छोरीलाई चाहिँ पढाऊँ भन्ने सोच थियो । तर, सकिनँ’, उनी भन्छन्, ‘लुगा, कापीकलम किन्न सकिनँ । त्यही भएर स्कुलबाट नै निकालेँ ।’

उनकी जेठी छोरी देवीले गौरादहको अमर माविमा कक्षा ३ मा पढ्दै गर्दा दुई वर्षअघि विद्यालय छाडिन् । माइली सुनीताले १ कक्षा र कान्छी सविनाले बालशिक्षाबाटै पढाइ छाडे । ‘स्कुल जाने लुगा हुँदैन । किताब त स्कुलले दिन्छ । तर, कापीकलम पनि हुँदैन’, उनी भन्छिन्, ‘सबै साथीहरू स्कुलमा पैसा ल्याएर खाजा खान्छन् । हामीचाहिँ हेरेर बस्नुपर्छ । अनि स्कुल जानै छोड्यौँ ।’

४ फागुनमा प्रधानमन्त्री ओलीले झापा आएर विद्यालय जाने उमेरका बालबालिका शतप्रतिशत विद्यालय भर्ना हुने अवस्थामा रहेको दाबी गरेका थिए । उनले विद्यालय छाड्ने बालबालिकाको संख्या २ प्रतिशत मात्र रहेको बताए । तर, उनले आफ्नै निर्वाचन क्षेत्रका कुसुम र देवीको पीडा थाहा पाएनन् । उनीहरू गरिबीकै कारण विद्यालय जान पाएका छैनन् । यी दुई परिवार त उदाहरण मात्र हुन् । सुगम भनिएको झापाका सीमान्तकृत तथा गरिब परिवारका धेरैजसो बालबालिकाले पढ्न पाएका छैनन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *