वीरगञ्जमा सरकारी तथा निजी अस्पतालले भर्ना नलिदा ७ जनाले ज्यान गुमाए

वीरगञ्ज, २६ भदौ । कारोना संक्रमण महामारीको कारण वीरगञ्जस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिदा तथा उपचार नपाउँदा ७ जनाले ज्यान गुमाएका छन् ।कोरोना कहरको बेला अधिकांश अस्पतालहरु बन्द रहेको र संचालन रहेको अस्पतालले पनि विरामी भर्ना नलिदा ५ जनाले ज्यान गुमाउनु परेको तथा भर्ना लिएर पनि उपचार गर्दा २ जना गरि ७ जनाले ज्यान गमाएका छन् । ज्यान गुमाउनेहरुमा वीरगञ्ज महानगरपालिकाका मात्रै ६ जना तथा बारा जिल्लाको कोल्हभी नगरपालिका वडा नं, ४ का एकजना रहेका छन् ।

साउन २२ गते वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरका ६० बर्षीय चलितर महतोलाई पीसीआर नेगेटिभ रिपोर्टका साथ परिवारजन वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको लागि लिएर जाँदा अस्पतालले भर्ना नलिदा आकस्मिक कक्षको गेट अगाडि रिक्सामा नै मृत्यु भएको थियो ।

आकस्मिक कक्षका चिकित्सकलाई समेत पिसिआर रिपोर्ट नेगेटिभ देखाउदा भर्ना लिन मानेपछि समयमा उपचार नपाएको कारण मृत्यु भएको थियो ।यसैगरि साउन २३ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का २० वर्षीय महिला बिष्णु लामालाई अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तजनको भनाई छ ।

सामान्य ज्वारों र खोकी लागे पश्चात स्वाँस प्रस्वाँसमा समस्या आएपछि अटो रिक्सामा राखेर नारायणी अस्पताल लगिएको थियो । त्यहाँ भर्ना लिन नमान्दा एड्भान्स अस्पताल लगियो, त्यहाँ पनि भर्ना नलिदा गण्डक अस्पताल लगियो, त्यहाँबाट बायोधा अस्पताल, त्यहाँबाट तराई अस्पताल, त्यहाँबाट भवानी अस्पताल, त्यहाँबाट नेशनल मेडिकल, त्यहाँपनि भर्ना नगर्दा हारगुहार गरेर गण्डक अस्पतालमा भर्ना गर्न खोज्दा अस्पताल गेट अगाडि नै अटो रिक्सामा मृत्यु भयो ।

अस्पतालका चिकित्सकले बिरामीमा कोरोना संक्रमणको लक्षण देखिएकाले त्यहा इमरजेंसी सेवा बाहेक बाँकी सेवा बन्द छ भन्दै अर्को अस्पताल लैजान सुझाव दिदै फर्काउँदै मृत्यु भएको थियो ।यसरी नै अर्का वीरगञ्ज महानगपलिका वडा नं, २५ का ६५ बर्षीय ढाड़ दुख्ने समस्याले ग्रसित बृद्ध महिलालाई साउन २४ गते राति एड्भान्स अस्पतालमा लैजादा भर्ना लिएन ।

त्यस पश्चात उनलाई नेशनल मेडिकल कलेज, नारायणी अस्पताल हँदै नेपाल इन्डो अस्पतालमा लगियो । त्यहाँपनि भर्ना लिन नमानेपछि बाटोमै महिलाले ज्यान गुमाउनु पर्यो । समयमा उपचार नपाएको कारण उक्त महिलाको मृत्यु भएका उनकी आफन्तको भनाई छ ।

यसैगरि साउन २३ गते वीरगन्ज महानगपलिका वडा नं, १३ का ६२ वर्षीय शारदा देवी रौनियारलाई राति श्वासप्रश्वासमा समस्या आएपछि तराई अस्पतालमा लैजाँदा भर्ना लिन नमानेपछि नेशनल मेडिकल कलेज लगियो ।

नेशनल मेडिकल कालेजले पनि भर्ना लिन नमानेपछि अन्तमा नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो र केही बेरमै उपचारको क्रममा मृत्यु भयो । उनको आरडिटि परीक्षण गर्दा कोरोना नेगेटिभ आएपनि निजी अस्पतालले भर्ना गर्न नमान्दा अकालमै मृत्यु भएको आफन्तको गुनासो छ ।

त्यसैगरि साउन २४ गते वीरगञ्ज महानगरपालिका वडा नं, ७ रामटोलका वीरगञ्जकै कालेज कक्षा ११ मा अध्यन्नरत छात्र अनिश गुप्ताको स्वास्थ्य अवस्था खराब भएपछि नारायणी अस्पतालमा लैँजादा त्यहाँ भर्ना गर्न अस्वीकार गरेपछि उनलाई नेशनल मेडिकल कलेजमा लैजादा लैजाँदै बाटोमै मृत्यु भएको थियो ।

यसरी अस्पताल चहार्दा चहार्दै पाँच जनाले ज्यान गुमाउनु परेको छ भने अस्पतालले भर्ना गरेर पनि उपचार नगर्दा दुई जनाको मृत्यु भएको हो ।साउन २० गते पीसीआर रिपोर्ट पोजेटिभ आएका वीरगन्ज महानगरपालिका वडा नं, १५ निवासी प्रमोद कुशवाहाको साउन २१ गते विहान ५ः३० बजे शंकास्पद मृत्यु भयो ।

मृत्युु हुनुभन्दा २ मिनेट अघि कुशवाहाको कान्छो छोराले बाबूलाई फोन गर्दा बाबूले छोरालाई अस्पतालको व्यवस्था सम्बन्धी गुनासो सुनाउँदै भनेका थिए अस्पताल भन्दा घर नै ठीक थियो । त्यसपछि बिरामीलाई सम्पर्क गर्दा फोन नउठेको उनका दाजु बताउँछन् ।

यसैगरि साउन बारा जिल्लाको कोल्हभी नगरपालिका वडा नं ४ सपही निवासी २२ वर्षीय युवा विक्रम चौधरीको पनि पिसिआर रिपोर्ट पर्खेर उपचार नपाउँदा मृत्यु भएको आफन्तहरुको गुनासो छ ।भदौ २१ गते नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदा त्यहाँ भर्ना लिन नमानेपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गर्दा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस पश्चात उपचारमा लापरवाही भएको कारण मृत्यु भएको भन्दै आफन्तहरु न्यायको माग गर्दै विरोध प्रदर्शन गरि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *