संक्रमण फैलन नदिन कोरोना संक्रमित बसेको क्षेत्र शील गर्न स्थानीयको माग

वीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीनजना भारतीयमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ ।

जामे मस्जिदमा दुई साता अगाडिदेखि बस्दै आएका तीनजना भारतीयमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाइएको थियो ।

जसमध्ये तीनजनाको शुक्रबार आएको प्रारम्भिक रिपोर्ट पोजेटिभ देखिएपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएका तीनजना ३७, ४४ र ५५ वर्षका पुरुष हुन् । उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीमा बस्दै आएका थिए ।

टोलटोलको बाटोमा प्रवेश निषेध गरिँदै
नेपालको जमातीमा आएका तीनजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जमा कोरोना संक्रमण फैलन नदिन टोलटोलको बाटोमा अवरोध खडा गर्न थालिएको छ । नगरको छपकैया, मुर्ली, लक्ष्मणवा, श्रीपुरलगायतको ठाउँको बाटोमा प्रवेश बन्देज गर्न थालिएको स्थानीयले जनाएका छन् ।

स्थानीय सन्दीप यादवले गाउँको मुख्य बाटोमा बाहिरको व्यक्तिलाई प्रवेशमा रोक लगाउँदै अवरोध गर्न थालिएको बताए । कोरोना संक्रमित बस्दै आएको छपकैयालाई पूरा सिल गर्न नगरवासीले मागसमेत गरेका छन् । यता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि कोरोना संक्रमण देखिएको स्थानलाई पूर्ण रूपमा लकडाउन गरिने बताएका छन् । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *