संक्रमितहरू लुकी बसेको भन्ने सूचनाका आधारमा तुलसीपुरका मस्जिदहरूको अनुगमन

दाङ, ७ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले यहाँका विभिन्न मस्जिदहरुको अनुगमन गरेको छ । देशका विभिन्न भागमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर वसेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो । तुलसीपुर उपमहानगरपालिका भित्र ३ वटा मस्जिदहरु रहेका छन् । तिनवटै मस्जिदको अनुगमनका क्रममा कोही पनि लुकेर बसेको पाइएन ।

नगरप्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, संविधान सभा सदस्य अनारकली मियाँ, वडा नं ५ का वडा सदस्य सुरेश कुमार श्रेष्ठ, पत्रकार, मानवअधिकार तथा शान्ति समाज, सम्वाद समूह दाङ, रेडक्रस लगायतकाे टाेलीले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको नगरप्रमुख पाण्डेले बताए । उनले तत्काल कोही भारत गएको या नगएको भन्ने बारेमा जानकारी दिएको समेत बताए । मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको बताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफूहरुप्रति गलत दृष्टिकोण राखिएको समेत बताए ।

मस्जिदमा कोही पनि नआएको भन्दै कोरोना संक्रमणका बारेमा आफूहरु जानकार रहेको कुरामा उनीहरूले जोड दिए । “हामीलाई पनि ज्यानको माया छ, किन लापरवाही गर्छौं र ?” मौलानाले भने ।

तुलसीपुरमा वडा नम्बर ५ पुरानो बसपार्कमा नेपाली जामे मस्जिद,अबु बकर मस्जिद र फैजाने मुस्तफा लगायतका ३ वटा मस्जिदहरु रहेका छन् । हरेद दिन नमाज पढ्नका लागि मस्जिदहरुमा मुस्लिमहरु आउने गरेको भए पनि कोरोना संक्रमणको त्रासपश्चात भने पूर्ण रुपमा बन्द गरिएको मियाँले जानकारी दिए ।

उनले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकोले संक्रमणको त्रास नभएको समेत बताए । अनुगमनमा क्रममा उनीहरुले जुनसुकै वेला फेरि पनि मस्जिदको अनुगमन गर्न सकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *