सन् २०२० इतिहासकै ‘तातो वर्ष’ हुने

सन् २०२० को सुरुवात कोरोना भाइरसको महामारीबाट हुन पुग्यो । जसको फलस्वरूप सन् २०२० को चौथो महिनासम्म आइ पुग्दा पूरै विश्व प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लकडाउनमा छ ।

महामारीका कारण आर्थिक एवं मानसिक रूपमा चरम संकट सिर्जना भइरहेको छ । लकडाउनले धेरै नकारात्मक असर पुऱ्याए तापनि केही क्षेत्रमा भने सकारात्मक प्रभाव पारेको अनुभव गरिएको पनि हो । त्यसैमध्येको एक वायु प्रदूषण कम भएर वातावरण र वायुमण्डल सफा भइरहेको आशा गरिएको थियो ।

तर, त्यस आशाविपरीत नतिजा भने नितान्त फरक आउने देखिएको छ । अनुसन्धानकर्ताहरूले यो वर्ष अर्थात् सन २०२०, मानव इतिहासकै ‘तातो वर्ष’ हुने निष्कर्ष निकालेका छन् ।

द गार्जियनले प्रकाशित गरेको सामग्रीअनुसार अमेरिकी राष्ट्रिय महासागर र वातावरणीय प्रशासनका अनुसन्धानकर्ताहरूले यो वर्ष ताप मापन थालिएयताकै ‘तातो वर्ष’ हुने अध्ययन सार्वजनिक गरेका हुन् । यो सम्भावना ७५ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

लकडाउनका समयमा कार्बनडाइ अक्साइड एवं अन्य प्रदूषण उत्सर्जनमा कमी आए पनि यसअघि नै कैयौँ टन हरितगृह ग्यास वायुमण्डलमा समाहित भइसकेको छ ।

यसअघि सन् २०१६ मानव इतिहासकै तातो वर्ष बनेको थियो । वायुमण्डल र सामुन्द्रिक गतिविधिबारे अध्ययन एवं खोज गर्ने राष्ट्रिय महासागर र वातावरणीय प्रशासनले यो वर्ष अहिलेसम्मकै उच्च तापक्रम भएको वर्ष नभएमा उच्च तापक्रम भएका पाँच वर्षभित्रमा भने पर्ने जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका मौसमसम्बन्धी वैज्ञानिक कार्टिन हुस्टिनले ‘उत्सर्जनमा कमी आए पनि पहिलाकै उच्चप्रदूषणका कारण वायुमण्डलीय अवस्थामा कुनै सुधार नआउने’ बताएकी छन् ।

अन्तरिक्षसम्बन्धी अमेरिकी संस्थान नासाको गोडार्ड संस्थानले पनि यो वर्ष अहिलेसम्मकै तातो वर्ष हुन सक्ने बताएको छ । सन् २०२० ले सन् २०१६ को तापक्रमलाई नाघ्ने सम्भावना ६० प्रतिशत रहेको नासाको अध्ययन प्रतिवेदनले जनाएको छ ।

यसअघि नै फेब्रुअरी १७ मा आर्कटिकको तापक्रम १८ डिग्री सेल्सियस नाघेको अध्ययन सार्वजनिक भइसकेको छ । त्यस्तै सन् २०२० कै जनवरी महिनाको तापक्रम ११ हजार सात सय वर्षयताकै उच्च पुगेको थियो ।

सुरुका तीन महिनाको तापक्रमकै आधारमा यो वर्ष बढी तातो हुने सम्भावना ६० प्रतिशतभन्दा बढी देखिएको छ ।तापक्रम वृद्धिले संसारकै ठूलो वन अमेजोनमा विनाश बढाउने, समुद्रमा कीटाणु बढाउने, ठूलो मात्रामा हिउँ पग्लिनेजस्ता समस्या सिजर्ना गर्ने जनाइएको छ ।

सन् २०१६ मा पृथ्वीको तापक्रम ०.९४ डिगी सेल्सियस पुगेको थियो । पृथ्वीको तापक्रम वृद्धि भएसँगै उत्तरी र दक्षिणी ध्रुवको हिउँ पग्लिँदै जान्छ, समुद्रको सतह बढेसँगै थुप्रै सहर डुबानमा पर्नेछन् । प्रतिकूल परिस्थितिका कारण कैयौैँ प्रजाति नष्ट हुनेछन् ।

पृथ्वीको तापक्रम लगभग १ डिग्री सेल्सियस बढिसकेको छ । त्यो क्रम बढेर २.५ डिग्री सेल्सियससम्म पुग्दा निकै नै विनाशकारी समस्याउत्पन्न भइसक्नेछन् ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *