सबैखाले सार्वजनिक यातायात बन्द गर्न सरकारसँग आग्रह

यातायात व्यवसायीले छोटो दूरी तथा काठमाडौं उपत्यकाभित्र पनि सबैखाले सार्वजनिक यातायात बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यातायात व्यवसायी महासंघका पदाधिकारीले उपत्यकामा चल्ने सबैखाले सवारीसाधन पनि बन्द गर्न ध्यानाकर्षण गराएका हुन् । देशमा जुनसुकै वेला पनि भयावह स्थिति आउन सक्ने भन्दै केही समयका लागि हवाई यातायातसमेत बन्द गर्न ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘हामीले मन्त्रीलाई काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गराउन सुझाब दिएका छौँ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘मन्त्रीले ग्रिन सिग्नल दिनुभएको छ । सम्भवतः उहाँले उच्चस्तरीय समितिमार्फत तत्काल निर्णय गर्नुहुन्छ ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले पनि आवश्यक परे सबैखाले सार्वजनिक सवारीसाधन बन्द गर्ने विषयमा मन्त्रालयसँग छलफल भइरहेको बताए । ‘हामीले मन्त्रालयसँग यस विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘मन्त्रालयले निर्णय गरेको खण्डमा हामी सबैले सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्रीले केपी ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशका नाममा सम्बोधन गरेर शुक्रबार १० चैतबाट लागू हुने गरी लामो दूरीका सवारीसाधन केही समयका लागि बन्द गर्ने घोषणा गरेका थिए । सोअनुसार आज सोमबारबाट लामो दूरीका सवारीसाधन बन्द भइसकेका छन् ।

कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएपछि नेपालमा पनि यसको सावधानीका लागि सुरक्षा उपाय अपनाउन थालिएको छ । तर, काठमाडौं उपत्यका सार्वजनिक सवारीसाधन चलिरहेको र मास्कको प्रयोग न्यून देखिएकाले जोखिम बढेको भन्दै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधन बन्द गर्न मन्त्री नेम्वाङको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *