सरकारले नक्शा समेत प्रकाशित नगर्दा नेपालीको चित्त दुख्या छ : भीम रावल

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का नेता भीम रावलले भारतले आफ्नो भूमि नभएको नक्शा प्रकाशित गर्दा समेत नेपाल सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको आरोप लगाउनु भएको छ । पूर्व उपप्रधानमन्त्री रावलले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सरकारले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

‘भारतले सुगौली सन्धि मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको कारण के हो ? सरकारले यसको जवाफ दिनुपर्छ’ उहाँले भन्नुभयो, ‘भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित गर्यो । सुघौली सन्धि भनौँ या दुई देश बीचका सहमति कुनैपनि पक्षसँग नमिल्ने गरी उसले नक्सा प्रकाशित गर्यो । उसले नभएको जग्गा आफ्नोमा प्रकाशित गर्ने । हामीले यतिपटक भन्यौँ नेपालको नक्सा प्रकाशित गर्न भनेर कि त नेपाली जनतालाई भन्नुपर्यो हामीसँग नक्सा लेख्ने प्राविधिक छैनन् । यदि प्राविधिक समस्या हो भने नक्सा बनाउने मान्छे छैनन् या हाम्रो अध्ययन सकिएको छैन ।’

पूर्व उपप्रधानमन्त्री रावलले नक्सासमेत प्रकाशित नगर्दा देशभक्त नेपालीको चित्त दुखेको उल्लेख गर्नुभयो । ‘हामीले आफ्नो देशको सावभौंम सत्ता त्यहाँ गएर हाम्रा विज्ञहरुलाई खटाउने कर्मचारीलाई खटाउने अध्ययन गर्न लगाउने काम त परै जाओस नक्सा पनि प्रकाशित हुन सकेको छैन’ उहाँले भन्नुभयो, ‘ नक्सा पनि प्रकाशित नहुँदा देशभक्त नेपालीको चित्त दुख्छ भन्ने कुरामा हेक्का राख्नुपर्छ कि पर्दैन ?

नेता रावलले कुटनीतिक रुपमा काम गर्दै गर्दा पनि स्थलगत रुपमा समेत अध्ययन गर्न सकिने भन्दै त्यस क्षेत्रमा आफ्ना संयन्त्र खटाएर काम गर्न माग समेत गर्नुभयो । ‘अब भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आयो’ उहाँले भन्नुभयो, ‘यसरी मिच्दै जाने सीमानामा बाँध बनाउँदै जाने, हामी एउटा वक्तव्य दिने एकचोटी हल्ला हुन्छ कोही कोही मान्छे भन्छन यो हल्ला गर्ने र एकचोटी शान्त हुन्छ, इतिहासमा त्यस्तो भएको पनि छ । मान्छेले त्यतिकै भनेका छैनन् । अब त्यो स्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *