सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्छ : भीम रावल

काठमाडौं, वैशाख। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सरकारले जारी गरेको अध्यादेशलाई खारेज हुनुपर्ने बताएका छन्। सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले जारी गरेको अध्यादेशलाई अनिष्टकारी अध्यादेश’ को संज्ञा दिँदै खारेज हुनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै रावलले भनेका छन्,‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन्,‘देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरुका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानून ल्याइएको थियो।’

तत्कालिन नेकपा (एमाले) को ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले स्थान पाएको बताउँदै उनले भनेका छन्, ‘त्यस्तैगरी तत्कालिन नेकपा (एमाले) को निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो। यसका विरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ। यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *