सशस्त्र प्रहरी उपरीक्षक भन्छन् – सीमानाकाबाट मानिस त के, कुनै जन्तु पनि छिर्न दिन्नाैँ

बेलाैरी, १४ बैशाख । लकडाउन प्रभावकारी बनाउन र भारतबाट कसैलाई पनि भित्रिन नदिन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले २४ सै घण्टा पहरा दिएको छ।भारतसंग कुल १२९ं.५ किलोमिटर दुरीमा रहेको सीमा क्षेत्रमा थप १० अस्थायी पोष्ट स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई २४ सै घण्टा पहरा मात्रै दिएको छैन, सीमा क्षेत्रमा गस्ती समेत गरिरहेको छ ।

थप २२० जनशक्ति परिचालन गरेर सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्र सिल गरेर सीमावर्ती गाउँ तथा कञ्चनपुर प्रवेशद्वार कृष्णपुर नगरपालिका- ५ गुलरियामा सशस्त्र प्रहरीले स्थायी पोष्ट स्थापना गरेको छ ।

सशस्त्रले त्यहाँ हुने अवाञ्छित गतिविधिदेखि कञ्चनपुर प्रवेश गर्नेको विस्तृत ट्राभलिङ्ग रेकर्ड र स्वास्थ्य परीक्षण गरिरहेको छ । लकडाउकै बेला १४ चैत्रमा बेदकोट नगरपालिका १० चतहरीका ४१ वर्षीय ईन्द्र विकमा कोरोना पुष्टि भएको थियो ।

अहिले उनी सेती प्रादेशिक अस्पतालबाट उपचारपछि घर फर्किसकेका छन् । यो कञ्चनपुर र देशकै लागि सुखद विषय हो । उनी सहित ११ जनालाई सशस्त्र प्रहरीले ब्रम्हदेवदेखि सीधै बेदकोटको क्वारेन्टाईनमा लगेको थियो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिंह शाहुले राज्यले दिएको जिम्मेवारीमा कत्ति पनि कमी हुन नदिने बताए । उनले जिल्लाको उत्तरी भेग खल्लामेछेट्टीदेखि दोधारा-चाँदनी, बेलडाँडी, बेलौरी हुँदै पुनर्वासको डोकेबजारसम्म पूरै सीमा क्षेत्र सिल गरिएको बताए ।

‘एक मानिस त के प्राणी पनि न भित्रिन्छ, न बाहिरिन्छ,’ सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘त्यही अनरुपको सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध गरिएको छ ।’ अहिले पनि सशस्त्र प्रहरीले पैदल, मोटरसाईलदेखि जिपमा नियमित गस्ती बढाएको उनले बताए ।

‘लकडाउन उल्लंघन र कुनै पनि अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरी २४ सै घण्टा हाजिर छ,’ उनले भने, ‘हामीले सीमा क्षेत्र सहित, जिल्ला प्रवेश र गाउँघरतिर पनि गस्ती बढाएका छौँ ।’

महाकाली नगरपालिका क्षेत्रमा महाकाली नदीका भङ्गालामा जोखिम मोलेरै भए पनि वारपार गरिरहेको उनले बताए । सशस्त्र प्रहरीले लकडाउनका समयमा गरेको भूमिकाको स्थानीय स्तरसहित सरोकारवाला पक्षबाट प्रशंसा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *