सांसदले संसदमै भने–सिमानामा काँडेबार लगाउन एकवर्षको तलब दिन्छुु

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले भारतर्फको सिमानामा काँडेतार बार लगाउन माग गरेका छन् । सांसदहरुले राष्ट्रियसभा बैठकको शून्य समयमा सीमा क्षेत्रमा रहेका नागरिकलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।

सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताउनुभयो । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उहाँले बताउनुभयो । ‘‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न्’ उहाँले भन्नुभयो, त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु ।’

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताउनुभयो । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उहाँले माग गर्नुभयो । सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाउनुभयो । सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको उल्लेख गर्दै उहाँले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताउनुभयो । संक्रमण देखिएको समुदायमा सिल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नको प्रवन्ध मिलाउन स्थानीय तहलाई निर्देशन दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । खाडीमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *