सांसद यादवकाे उजुरी काठमाडाैंमा मात्रै हाेइन भक्तपुर, काभ्रे र सिन्धुलीमा पनि दर्ता हुनुपर्छ : पूर्व डिआईजी खरेल

काठमाडाैं, १५ वैशाख । पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नवगठित जनता समाजवादी पार्टी नेपालका नेता तथ सांसद डा. सुरेन्द्र कुमार यादवकाे उजुरी महानगरीय प्रहरी परिसर टेकुले लिनुपर्ने बताउनुभएकाे छ ।

सांसद डा. यादवलाई अपहरण गरेको आरोपमा आइतबार सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिँदा महानगरीय प्रहरी परिसर टेकुले लिन अस्विकार गरेको थियाे । प्रहरीले सांसद डा. यादवकाे उजुरी दर्ता नगरेकाेमा आफूलाई लाज लागेकाे पनि पूर्व डिआईजी खरेलले बताउनुभयाे ।

न्युज २४ सँग कुरा गर्दै उहाँले भन्नुभयाे, ‘पूर्व प्रहरीको हैसियतले मलाई लाज लागिरहेको छ, मेरो शिर निउरिएको छ, २९ वर्ष नेपाल प्रहरीमा बसेर ३ करोड नेपाली जनताका सेवा गरेको मान्छेलाई प्रहरीले नै उजुरी लिएन भन्ने कुराले लाज लागेकाे छ, शिर झुकेको छ ।’

उहाँले सांसद यादवकाे अपहरणमा सरकार प्रमुखकै संलग्नता हो कि भन्ने शंका भएकाे पनि बताउनुभयाे । ‘यसमा के देखिन्छ भने राजनीतिको उच्च तहमा पुगेका व्यक्तिहरुकै संलग्नता रहेकाे छ । यति मात्रै हाेइन यसमा सरकार प्रमुखकै संलग्नता छ कि भन्ने शंका पनि भएकाे छ,’ पूर्व डिआईजी खरेलले भन्नुभयाे ।

उक्त घटना टेकुमा दर्ता र अनुसन्धान गर्न मिल्ने पनि उहाँले बताउनुभयाे । ‘मेरो अनुभवबाट, मेरो अनुभवबाट मात्रै होइन अहिलेको देशको कानूनको हिसाबले पनि टेकुमा याे घटनाकाे उजुरी दर्ता गर्न मिल्छ । सुरुमा उहाँलाई गलत नियतले महोत्तरीबाट ल्याइयो, महोत्तरीबाट बाँधेरै, बन्दुक देखाएरै ल्याउनु पर्दैन । धम्क्याएर पनि ल्याउन सकिन्छ, यो केसमा महोत्तरीमा पनि दर्ता गर्न सकिन्छ,’ उहाँले भान्नुभयाे, ‘याे घटनामा चेन अफ क्राइम सिन छ, त्यसैले यसकाे उजुरी महोत्तरी, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाडौंमा पनि दर्ता गर्न मिल्छ ।’

पूर्व डिआईजी खरेलले महानगरीय प्रहरी परिसर काडमाडाैंले उजुरी दर्ता गरेर अनुसन्धान गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘काठमाडौंको पाँचतारे मेरियट होटेलका कोठाहरु चाहिँ बुक गरेर बन्धक बनाउँदा चाहिँ हुने तर काठमाडाैं प्रहरी परिसरले उजुरी चाहिँ किन लिन नहुने ? काठमाडौं परिसरले उजुरी दर्ता गरेर अनुसान्धन सुरु गर्नुपर्छ ।’

याे घटनाले नेपाल प्रहरी कसैको आदेश नमान्ने र कानूनकाे मात्रै आदेश मान्ने भनेर प्रमाणित गर्ने समय रहेकाे पनि उहाँले बताउनुभयाे । ‘आजै {आइतबार} काठमडौं परिसका प्रमुख श्याम ज्ञवाली जी हाजिर हुनु भएको भन्ने मैले बुझेकाे छु, उहाँले नेपाल प्रहरीमा जागिर खाँदा, तालिम गरेर पास आउट हुँदा गीतालाई छोएर कसम खानुभएको छ । व्यक्तिको आदेश होइन संविधानको आदेश, कानूनको आदेश मान्छु भनेर कासम खानुभएको छ । उहाँलाई यो स्थापित गर्ने सुवर्ण अवसर छ,’ पूर्व डिआईजी खरेलले भन्नुभयाे, ‘उहाँले दायाँबायाँ हेर्ने होइन, कसैको आदेश मान्ने होइन, उहाँले अहिले एफआइआर दर्ता गर्ने, अनुसान्धन गर्ने हो ।’

याे घटनामा पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठलगायत संलग्नता छ कि छैन भनेर अदालतले निर्णय गर्ने पनि उहाँले बताउनुभयाे । ‘प्रहरीकाे दायित्व भनेकाे अनुसन्धनका प्रमाणहरु जुटाउने र सरकारी वकिलसामु बुझाउने हो, सरकारी वकिलले अदालतममा बुझाउछ,’ खरेलले भन्नुभयाे, ‘उहाँहरू याे घटनामा संलग्नता छ कि छैन भनेर अदालतले छानविन गर्छ ।’

अहिलेकाे प्रहरी कमाण्डर/लिडरले खुट्टा दह्रो टेकेर दयाँबायाँ कुरा नसुनि कानूनलाई टेकेर कारबाही गर्नुपर्ने पनि उहाँले बताउनुभयाे । ‘अब नेपाल प्रहरीले आफ्नो साख जोगाउने बेला आएको छ,’ उहाँले भन्नुभयाे, ‘मलाई विश्वास लाग्छ, नेपाल प्रहरीमा आजको दिनमा हाजिर हुनुभएको कमाण्डरले खुट्टा दह्रो टेकेर दयाँबायाँ अनैतिक आदेश नसुनी, डर नमानी कानूनलाई टेकेर कारबाही गर्नुपर्छ ।’ तर अहिलेकाे अवस्थामा सत्यतथ्य छानविन हुन्छ भनेर विश्वास गर्न सकिने अवस्था नभएकाे पनि उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *