सांसद यादवलाई ‘अपहरण’ गर्नेमाथि छानविन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले तनहुँका विभिन्न स्थानीय तहमा प्रदर्शन गरेको छ।महोत्तरीबाट समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसन मुछिएको भन्दै छानविन गरी दोषी देखिए कारवाही गर्नुपर्ने माग गर्दै नेविसंघले प्रदर्शन गरेका हुन्।

नेविसंघ तनहुँका सभापति चुडामणि खनालका अनुसार जिल्लाभित्र रहेका स्थानीय तह र वडाहरूमा बुधबार शान्तपूर्ण विरोध प्रदर्शन गरिएको हो।शुक्लागण्डकी नगरपालिका बन्केचोक, ऋषिङ, भिमाद वडा नम्बर ३ जलौदी, भिमाद ६ पूरानो बजार, शुक्ला ७ मालेबगर, भानु २ नारेश्वरटार, व्यास १ क्याम्पसगेट, भिमाद ५ रिसिङपाटन, दुलेगौडा, मिछुलुङलगायत ठाउँमा प्रदर्शन गरिएको उनले बताए।

नेविसंघ महामन्त्री दिपक भट्टराईले सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याइएको घटनामा पूर्वआइजिपी, नेकपाका सांसदहरू नै मुछिएकोले यो घटनाबारे छानविन हुनुपर्ने नेविसंघको माग गरेको बताए।

राजपा र समाजवादीबीच पार्टी एकता भएर बनेको जनता समाजवादीले आफ्ना सांसदको अपहरणमा पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय श्रेष्ठ र महेश बस्नेतको संलग्नता रहेको भन्दै किटानी जाहेरी महानगरी प्रहरी परिसर काठमाडौंमा दिए पनि दर्ता भएको थिएन। उनीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा दिएको जाहेरी पनि दर्ता भएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *