साउदीमा ठूलो सङ्ख्यामा नेपाली कामदार बेरोजगार

दोहा / कोरोना संक्रमणका कारण रोजगारी गुमाएर वा एक्जिट वा विदा वा पुन: साउदी फर्कने गरी नेपाल जाने प्रबन्ध गरिदिन अनुरोध गर्दै ठूलो संख्यामा नेपाली कामदारहरु साउदीस्थित नेपाली दूतावासको सम्पर्कमा आउन थालेका छन् ।

वास्तविक समस्या लिई नेपाली दूतावासको सम्पर्कमा आउने नेपालीहरुको समस्या समाधानमा नेपाली राजदूतावास क्रियाशील रहेको जनाएको छ । दैनिक धेरै समस्याहरु समाधान भएको जनाउदै दूताबासले सम्पर्कका अन्य माध्यमका अतिरिक्त टेलिफोन मार्फत् दूतावासले संकलन गरेको अभिलेख महत्वपूर्ण हुने भएकाले समस्या समाधानमा आफू समेत जिम्मेवार भई आफ्ना वास्तविक समस्या टिपाउन समेत अनुरोध गरेको छ ।

दूतावास रियाद र महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र अन्तर्गतका नेपाली कामदारका समस्याहरुको टिपोट, समाधानको पहल एवं अभिलेख राख्ने समन्वयको कार्यलाई व्यवस्थित गर्नुपर्ने भएकोले नेपाली महावाणिज्यदूतावास जेद्दाको कार्यक्षेत्र (मक्का, मदिना जेद्दा, आभा खमिस, असिर, जिजान, नजरान) भित्र कार्यरत नेपालीहरुले सो महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिनेछ ।

पछिल्ला दिनमा यो संख्या बढ्दै गइरहेको छ । नेपाल सरकारले हाल २०७७ जेष्ठको पहिलो हप्तासम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ भने साउदी सरकारले पनि अर्को सूचना नभएसम्मका लागि उडानहरु बन्द गरेको दूताबासले जनाएको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय आगमन उडानहरुबाट हुनसक्ने संक्रमणको जोखिम न्यून गर्न सुक्ष्म अध्ययन एवं आवश्यक कार्य गरिरहेको छ । नेपाल लगायत दक्षिण एसियाका देशहरुले समेत संक्रमणको गति र जोखिम न्यूनिकरण गर्ने कार्यमा जोड दिएको पाइएकाे छ ।

नेपाल सरकारले विदेशबाट आउने कोही कसैबाट घरपरिवार र आफन्तमा कोरोना सर्न सक्ने वा आउनेहरुमा सर्न सक्ने सबै सम्भावनाहरुलाई विचार गरी विदेशमा रहेका र स्वदेश फर्कन चाहनेहरुको व्यवस्थापन गर्ने तर्फ आन्तरिक गृहकार्य गरिरहेको दूताबासले जनाएको छ ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१,४०२ पुगेको छ । बुधबार थप १,३२५ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म २,९५३ जना निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म १५७ जना संक्रमितको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *