साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन दुतावासको आग्रह

काठमाडौँ, वैशाख १२ गते । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो। श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् ।

विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिना देखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गर्नुभयो । गएको एक वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहनुभएका उहाँलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाउनुभयो ।

उहाँले भन्नुभयो, दूतावासमा धेरै पटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइ रहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ । पराजुलीले साउदीमा आफूजस्तै थुप्रै नेपाली श्रमिक काम नभएर समस्यामा भएको गुनासो गर्नुभयो । यता साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *