सिरहादेखि पैदल हिँडेका भारतीयहरु रौतहटमा : सीमा बन्द भएकोप्रति सबै अनभिज्ञ

रौतहट, ९ वैशाख । लकडाउनका कारण दैनिक सयौँको संख्यामा यात्रुहरु पैदल नै आफ्नो गन्तव्यमा हिडिरहेका भेटिन्छन् । त्यस्ता यात्रुहरुमध्ये अधिकांश श्रमिक तथा मजदुरहरु हुन्छन् ।

यसै क्रममा रौतहटमा भेटिएका भारतीय मजदूरहरुको कथा भने अरु भन्दा अलिक फरक छ । लकडाउनको बेला पैदल यात्रुहरुमध्ये अधिकांश देशभित्रै एक ठाउँबाट अर्को ठाउँ जानका लागि हिडिरहेका हुन्छन् ।

जसमा स्थानीय प्रशासनको खासै रोकतोक छैन् । तर, रौतटहको चन्द्रपुर नगरपालिका वडा नम्बर २ अन्र्तगतको पूर्व–पश्चिम राजमार्गमा भेटिएका ३७ जना भारतीय मजदूरहरु लकडाउनको अवधिमा आफ्नो देश भारत जान भनेर पैदल हिडेका छन् ।

कोरोना भाइरस फैलन नदिन नेपाल–भारत दुबै देशले बोर्डर बन्द गरेका छन् । जसका कारण आम सर्वसाधारणलाई आवतजावतमा पूर्णतया रोक लगाइएको छ । तर यो कुराको बारेमा जानकार नरहेका भारतीय मजदूरहरु बीरगञ्ज पुगेपछि आफ्नो देश भारत जान पाइन्छ भन्ने आशमा तीन दिनको पैदलयात्रामा रौतहट आइपुगेका थिए ।

आफूहरु सिराहाको मिर्चैयास्थित सूर्या सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने बताउने उनीहरु कोरोनाको डरले सुरक्षित हुन आफ्नै घर फर्कन लागेको बताउँछन् ।

कोरोनाको सन्त्रासमा पनि फ्याक्ट्रीले काम गर्न लगाएको र धेरै मजदूरहरु भएकाले सामाजिक दूरी कायम नहुँदा कोरोना भाइरस सर्नसक्ने भनेर आफूहरु पैदल नै घर हिडेको सिवाङ्ग बिहारका अरुण कुमार पाण्डे बताउछन् ।

आफूहरुले काम गर्ने फ्याक्ट्रीमा धेरै मजदूर रहेकाले सरसफाइमा कमजोरी रहेको र एकैसाथ काम गर्दा कोरोना सर्ने डरैडर भएकाले आफ्नो घर जानलागेको उनको भनाइ छ ।

उनीसँगै आएका भारतको उत्तर प्रदेशको कुशिनगर जिल्लाका आकास कुमार सिंहले आफूहरु जसरी भएपनि घर जाने भनेर सिरहाबाट हिडेरै आएको बताउँछन् । सिराहामा बस्दा आफुहरुलाई धेरै समस्या भएकाले आफ्नो घर जान लागेको उनको भनाइ छ ।

सोही ठाउँका विनोद कुमार कुशहवापनि घर पुग्न पाए धेरै आनन्द हुने बताउँछन् । उनले कामगर्ने ठाउँमा कोरोनाको डरले काम गर्न मन नलागेको र घर पुग्न पाए परिवारसँग बसेर दुःख, सुख साट्न पाइन्छ भनेर घर जान लागेको बताए ।

भारत सरकारसँग घर जाने व्यवस्था मिलाउन माग

यसरी पैदलनै घर जान लागेकाहरु मध्ये अधिकांशलाई लकडाउनका कारण बोर्डर पूरै बन्द भएकाले नेपालबाट भारत जान नमिल्ने कुराको जानकारी थिएन् ।

उनीहरुले सिराहादेखि पैदल बीरगञ्ज जाने अनि त्यहाँ प्रहरी प्रशासनसँग आग्रह गरेर भारततर्फ जाने योजना बनाएका थिए । हामीले उनीहरुलाई अहिलेको अवस्थामा नेपालबाट भारत जान नमिल्ने बताएपछि उनीहरुले भारत सरकारले आफूहरुको लागि पहल गरिदिए घर जान पाइने आश रहेको बताए । उनीहरुले भारत सरकारले आफूहरुको पीडा बुझेर आफूहरुलाई सुरक्षित भारत जाने व्यवस्था मिलाउन माग गरेका छन् ।

स्थानीयले गरे सहयोग

सिराहाको मिर्चैयादेखि पैदल हिडेर आएका ३७ जना भारतीयहरुलाई चन्द्रपुरका स्थानीयले सहयोग गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर दुईमा स्थानीयले पैदल यात्रुहरुका लागि आफ्नै पहलमा सञ्चालन गरेको खाजापानी खुवाउने अभियानमा खाजापानीको व्यवस्था गरेर उनीहलाई ट्रकमा चढाएर पथलैयासम्म जाने व्यवस्था मिलाइदिएका छन् ।

ती भारतीय मजदूरहरुले नेपालीहरुको सहयोगी व्यवहारदेखि आफुहरु प्रभावित भएको भन्दै दुःखपाएको बेला सहयोग गर्ने नेपालीहरु प्रति खुसी हुँदै आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *