सीमामा ४ सय सुरक्षा पोस्ट थपेर भारतकै जति बनाउने गृहकाे तयारी

काठमाडौं : सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ। नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट छन्। नेपालले भने भारत तर्फको सीमामा १ सय २१ वटा पोस्ट राखेको छ। नेपालका तर्फबाट सुरक्षा पोस्ट (बीओपी) को संख्या ५ सय पु¥याउन सशस्त्रले प्रस्ताव गरेको हो। झण्डै ४ सय पोस्ट थप्ने प्रस्ताव सहितको योजना सशस्त्रले सोमबार गृह मन्त्रालयमा बुझाएको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले सिमानामा आवतजावत पूर्ण बन्द गर्ने गरी योजना ल्याउन सशस्त्रलाई निर्देशन दिएका थिए। लकडाउनको समयमा सीमामा थप कडाइ गर्न सुरक्षा पोस्ट आवश्यक रहेको भन्दै सो योजना तयार गरेको हो। यीमध्ये एक सय बीओपी थप्ने प्रक्रिया सुरु भइसकेको छ। यी बीओपी अन्तरगत रहने गरी चेकपोस्ट थप हुनेछन्। हाल १३ सय अस्थायी चेकपोस्ट छन्।

तर भारतबाट प्रहरीलाई छल्दै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रले थप कडाइ गर्न योजना बनाएको हो। त्यसका लागि ९ हजार जनशक्ति पनि थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ। हाल सरदर १५ किलो मिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको फरकमा रहनेछन्।

बीओपी थप गर्ने विषयमा आयोजित छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने बताए। मन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको र अझ बीओे पी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा विस्तृत प्रस्ताव तयार पार्न सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *