सीमा मिचेर सडक बनाएको थाहै भएन्ः प्रधानमन्त्री, सरकारलाई थाहा नहुने कुरैभएनः परराष्ट्रमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सोबारे आफूलाई कसैले रिपोेर्टिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमा गरेका हुन् ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी भएको बताएका थिए । तर, प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई थाहा नभएको बताएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए । यसबारे संसद् र संसदीय समितिहरूमा भएको छलफलदेखि दलहरूले लिएको अडानबारे जानकारी गराएका थिए ।प्रधानमन्त्री ओलीले झन्डै आधा घन्टा यसबारे बोलेका थिए । उनले सुगौली सन्धिअनुसार काली नदीपूर्वको भू–भाग नेपालको भएको बताए ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्वसूचना आफूसँग नभएको उल्लेख गर्दै पत्रपत्रिका हेरर थाहा पाएको बताए । बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा जेठ सो कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

त्यसै गरी बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारूपमा प्रस्तुत भएका थिए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका थिए ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकमा लकडाउनबारे कुनै एजेन्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएको बुझिएको छ ।नेपाल समाचारपत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *