सुत्केरीलाई लकडाउनमा ‘घ्यू र अण्डा’ कोशेली

बेनी : म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनमा सुत्केरीलाई पोषिला खानेकुराको अभाव नहोस् भनेर घ्यू र अण्डा वितरण गर्न थालेको छ ।

उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमअन्तरगत पोषण सुधारका लागि २०७६ साउन यता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई शरीर न्यानो हुने, शक्ति बढ्ने र दूध आउने भएकाले ज्वानो र मेथीको झोल बनाएर खुवाउने गरिन्छ ।

‘पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौं, ‘उपाध्यक्ष खरमाया बिटालुले भनिन्, ‘लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौं।’

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पुर्‍याउन उपाध्यक्षसँग सुत्केरी घेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।

मालिका-३ डाडागाउँका २० जना सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरिएको थियो । प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताइन् । २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । साउनदेखि असारसम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ ।

पहिलो चरणमा गर्भअवस्थाको जोखिम न्युनिकरण र पोषण सुधारका लागि ‘घरघरमा झण्डा, हातहातमा अण्डा’ अभियान सञ्चालन गरिएको थियो । गर्भवती पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन भन्ने उद्देश्यले घरमा हरियो रंगको झण्डा राखेर एक÷एक क्रेट अण्डा दिइएको छ।

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तु कार्कीले बताइन् । बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ ।

यसैगरी संस्थागत र सुरक्षित प्रसुति सेवामा पहुँच बढाउन सुत्केरी हुन बर्थिङ सेन्टर जानेलाई प्रोत्साहन भत्ता र पालिका बाहिर जानुपर्ने अवस्थामा निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

मालिका गाउपालिकाको ७ वटै वडामा सञ्चालन हुने यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बिनियोजन गरेको छ । यस्तै अन्नपूर्ण गाउपालिकाले लकडाउनबाट प्रभावित भएकालाई राहत वितरणका क्रममा चामल, दाल, नुन, तेलसंगै अण्डा समेत उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *