सुरक्षाकर्मी पनि छुन र उद्धार गर्न तयार छैनन्, सडकमा ढलेका बिरामीलाई

काठमाडौँ- निस्लोठ अनुहार, कक्रक्क परेका ओठ! पातलो शरीर! टेकुस्थित काठमाडौँ प्रहरी परीसरको गेटैअघि सडकको पेटीमा ढलिरेहकाे एउटा महिलाको हुलिया। सिरहा लहान ५ की ४५ वर्षीया मदिना खातुन। संकटमा मदिनाका ६० वर्षीय पति मोहम्मद आशिक आफ्नै हिसाबले उपचार गर्दै थिए उनको बिहीबार।

मोहम्मदले मदिनाकाे कपालमा तेल खन्याइरहेका थिए लगातार। उनी कहिले मदिनाको टाउको त, कहिले पैताला माड्थे। मोहम्मदले छिनछिनमा पानी खुवाउने प्रयास गरे तर मदिनाको होस आएन।

मास्क लगाएका केही स्थानीयहरु मदिना र मोहम्मदको त्यो पीडादायी दृश्य हेरिरहेका थिए,करिव आधा घण्टादेखि। सवारी या पैदल यात्रीको सुरक्षार्थ खटिएका ट्राफिक प्रहरीलाई त्यसको चिन्ता थिएन। सोधपुछ गर्दा ट्राफिक प्रहरीले भने, ‘उनी बेहोस भएर लडेकी हुन् रे।’

तर मोहम्मदले भने, ‘हामी भोकैँ छौँ । उनी(मदिना)लाई रोग बढ्यो। गाह्रो भयो। ढलिन्। अब के गर्ने?’ मदिनाले मधुमेहको औषधि खान थालेको लगातार चार वर्ष भएको रहेछ। कोभिड- १९ को संक्रमणका र शंकास्पद बिरामीको उपचार गर्ने भन्दै अहिले मधुमेह जस्ता रोगको उपचार बन्द गरेका छन् अस्पतालहरुले। त्यो थाहा छ मोहम्मदलाई।

कुपोण्डलमा उनीहरुले सञ्चालन गर्दै आएको माछा पसल बन्द छ, लकडाउनका कारण। टेकुको डेरामा उनीहरुको जीवन सीमित छ। र, कमाइ नहुँदा एक छाक खानामा दिन टरेको छ। औषधि सकियो, किन्ने पैसा भएन। अनि मदिनाको मधुमेह बढ्यो। बिहीबार कालिमाटी आफन्तकहाँ खाना खाने र त्यहाँबाट केही दिनलाई उधारो दाल र चामल ल्याउने योजना बनाएर पैदल हिँड्दै थिए यी दम्पत्ती। तर मदिना बाटैमा ढलिन्। दैनिक मजदुरीमा जीवीका चालाउनेका लागि राहत प्याकेजको घोषणा गरेको छ सरकारले। तर त्यो मदिना र मोहम्मदसम्म पुगेको छैन। अरु कहाँ पुगेनपुगेको उनीहरुलाई थाहा छैन।

ट्राफिक प्रहरीले पनि कोभिड-१९ को आशंकामा मदिनालाई उठाउने कोशिश गरेनन्। स्थानीयले टाढैबाट केही चाउचाउका पोका फालिदिए। पानीका बोटल र ग्लुकोज पनि परैबाट फ्याँकिदिएका थिए केहीले। ५० रुपैयाँसहित चामल पनि छरिएको थियो उनीहरु नजिक ।‘सामाजिक दूरी’ अपनाएकाले होला शायद।एक स्थानीयले भनिन्, ‘कोरोना भएको हो कि भन्ने डर लाग्यो, त्यही भएर हामीले उनलाई उठाएनौँ।

मोहम्मदले आत्तिँदै भने, ‘उनलाई केही भयो भने के गर्ने? मेरो सहारा उनै हुन्। लहानमा चार जना छोरोछोरी हाम्रै भरमा छन्।’ त्यसकाे केहीबेरमा पानी खनाउन थाले, मदिनाको शरीरमा मोहम्मदले। मदिनाले विस्तारै आँखा खोलिन्, मोहम्मदले लामाे श्वास लिए। १०२ मा फोन गर्दा एक महिलाको जबाफ आयो, ‘बेहोस भएको महिलालाई लिएर तपाईँ आफैँ आउन सक्नुहुन्छ अस्पताल?’ हामीले ‘बिरामीको श्रीमान आउन सक्नुहुन्छ। पर्‍यो भने हामी पनि आउँछौँ’ भन्यौँ। उनले भनिन्, ‘केहीबेर लाग्छ।’ कति समय लाग्छ? हाम्रो प्रश्नको जबाफ नदिएरै फोन काटिन् उनले।

मदिनलाई अलपत्र छोड्यो भने उनको ज्यान खतरामा पर्ने लाग्यो। हामीले बाटोमा कुदिरहेको एम्बुलेन्स रोक्यौँ। चालक आफ्नो एम्बुलेन्समा हालेर मदिनालाई निःशुल्क वीर अस्पताल पुर्‍याउन तयार भए। एम्बुलेन्समा मदिनालाई राखेपछि मोहम्मदले भने, ‘उनको ज्यान बच्छ कि अब?’ टेकु प्रहरीको समन्वयमा मदिनाको अहिले वीर अस्पतालका आकश्मिक कक्षमा उपचार भइरहेको छ। मोहम्मदले फोनमा भने, ‘उनको उपचार हुँदैछ। धन्यवाद हजुर।’

deshsanchar.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *