स्वास्थ्य सामाग्री माग्दा नोकरीबाटै हटाइए सरसफाई कर्मचारीलाई

काठमाडौं । स्वास्थ्य सामाग्री र राहत माग्दा सरसफाईको काम गर्ने ज्यालादारी कर्मचारीलाई जागिरबाट हटाइएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लागेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीलाई सरकारलाई विशेष प्राथमिकता दिएको अवस्थामा सर्लाहीका मलंगवा नगरपालिकाले त्यहाँ सरसफाईमा काम गर्ने ४३ जना कर्मचारीलाई जागिरबाट हटाएको हो ।

कोरोना भाइरसको महामारी फैलिरहेको हुनाले काम गर्नका लागि स्वास्थ्य सामाग्री तथा राहत माग गर्दा उनीहरुलाई सरसफाईको काम हटाइएको छ । यो लकडाउनका अवस्थामा सबै आ–आफ्नो घरमा रहेको अवस्थामा ती कर्मचारीहरु आफ्नो ज्यान जोखिममा राखेर सरसफाइ कार्यमा लागेका थिए । काम गर्दा मास्क, बुट, पञ्जाका साथै राहत पनि पाउनुपर्ने माग गर्दा आफूहरुलाई हटाएको सुनिल मेस्तरले बताए ।

आफनो ज्यानको बाजी लगाएर यस्तो अवस्थामा पनि नगर तथा अस्पताललाई सफा गर्दै आएपनि नगरपालिकाले आफुहरुलाई कामबाट नै हटाएको उनले बताए । आफुहरुले पटक–पटक स्वास्थ्य सुरक्षा सामाग्री माग्दा आजभोली आजभोली भन्दै आइरहेको र यसरी असुरक्षित तथा भोकभोकै काम गर्न नसकिने भनेपछि कामबाट हटाइएको दिएको उनले बताए ।

उनले रातोपाटीसँग भने– ‘जहाँ कोरोना भाइरसका संक्रमितका उपचार हुन्छ, त्यहाँ हामीहरु सरसफाई गर्न जान्छौ तर न माक्स हुन्छ, न पञ्जा, न बुट न कुनै विशेष पोसाक हुन्छ, बाटोघाटो कुकुर वा कुनै गाईवस्तु मरेको छ भने त्यसलाई उठाएर फ्याल्नुपर्छ, गाडी पनि छैन, ठेलामा फ्याल्नुपर्छ, ठेला पनि पम्चर छ ।’

त्यहाँ २० देखि ३५ वर्षसम्म काम गरेका कर्मचारीहरु छन् । उनीहरुको तीन–तीन महिनाको नियुक्तिपत्र हुन्छ । यो महामारीको बेलामा उनीहरुको माग सुरक्षा सामाग्री दिनुपर्ने या बीमा गरिदिनु भन्ने छ । तर नगरपालिका प्रमुखले अहिले महामारीको बेलामा कुनै पनि माग पुरा नहुने भन्दै काम गरे गर्नुस् नत्र जानुस् भनि जवाफ दिएको मेस्तरले बताए । प्रधानमन्त्री राहत कोषमा रकम दिनका लागि आफूहरुको पनि तीन दिनको तलब काटेको उनले दावी गरे । स्थायी र करारमा काम गर्ने कर्मचारीको तलब काट्नेसम्म त ठिक तर ज्यालादारीको पनि तलब काट्नु यो कहाँको न्याय हो भन्दै उनीहरुले प्रश्न गरेका छन् ।

नगरपालिकाले आफूहरुलाई जवर्जस्ती कामबाट निकालेको समेत मेस्तरले दावी गरे । तर नगरप्रमुख निर्सल साहले सरसफाई कर्मचारीलाई माक्स, बुट, पञ्जा उपलब्ध गराएको दावी गरे । उनले भने, ‘जब–जब कुनै समस्या हुन्छ अनि यी सरसफाईका कर्मचारीले हडताल गर्ने गर्छन् । पटक पटक यसरी विभिन्न माग राखेर हडताल गर्दै आएका छन् । अहिले यो कोेरोना महामारीसँग पुरै देश लडिरहेको छ, आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् तर उनीहरुले विभिन्न माग राख्दै माग पुरा नभए काम नगर्ने धम्की दिएको कारण कामबाट हटाइएको हो ।’

सरकारको निर्णयअनुसार नै आफूले स्थायी तथा करारमा काम गर्ने कर्मचारीको तीन दिनको तलब काटेको तर ज्यालादारीमा काम गर्नेको नकाटेको उनले दावी गरे । अब नयाँ प्रकृयाअनुसार चाँडै नै सरसफाई कर्मचारी राख्ने उनले बताए । उनले सरफाई कर्मचारीले पिपिई सेट माग गरेको तर स्वास्थ्यको कर्मचारीलाई त अहिलको समयमा पिपिई सेट उपलब्ध गराउन नसकिएको बेला सरसफाई कर्मचारीलाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने प्रतिकृया दिए ।

सरसफाई कर्मचारीहरुले ज्यालादारीमा काम गर्नेलाई नियुक्ति दिनुपर्ने, कोरोना महामारीको समयमा काम गर्नलाई पिपिई सेट (सरसफाई डे«स) उपलब्ध गराउनुपर्ने, कोरोनाको लागि तलबबाट कट्टा गरिएको रकम फिर्ता गर्नुपर्ने, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको बिमा गर्नुपर्ने र प्रदेश सरकारबाट प्राप्त रकमबाट आफुहरुलाई पनि राहत उपलब्ध गराउनुपर्ने माग गर्दै फोहर उठाउने काम बैशाख १ गतेदेखि बन्द गरेका छन् । नगरप्रमुख साह काँग्रेस पार्टीबाट चुनाव जितेका हुन् । सो नगरपालिकाको अधिकाँश वडामा काँग्रेसले जितेको छ । आज सरसफाईकर्मी नआएपछि नगरप्रमुख तथा वडाअध्यक्षहरुले बजारको सरसफाई आफैं गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *