स्वीडेनका नागरिकलाई न कोरोना, न महामारी

एजेन्सी । बल्लबल्ल सकिएको जाडोपछि लागेको न्यानो घाम ताप्न सधैँझैँ स्टकहोमको सबैभन्दा ठूलो स्क्वायरमा यतिखेर मान्छेहरुको भीड छ । त्यहाँ न कसैलाई लकडाउनको पर्वाह छ न कोरोनाको चिन्ता । मानिसहरु फूल पसलमा डुलिरहेका देखिन्छन् भने बालबालिकाहरु साइकल चलाइरहेका छन्, दर्जनौँ मानिसहरु बेन्चमा बसेर घाम तापिरहेका छन् भने कति बाहिर आउटडोर रेस्टुरेन्टमा बसेर खाइरहेका छन् । जहाँ बाँकी विश्व कोभिड–१९ का कारण लकडाउनमा घरभित्र थुनिएर बसेको छ त्यहीँ स्वीडेन वासीहरुका लागि भने दिनहरु सधैँ जसरी सामान्य चलिरहेको छ ।

त्यसरी नै आफ्ना साथीहरुको समूहमा बसेर बियर पिउँदै गरेकी ग्रोसरी स्टोरमा काम गर्ने २८ वर्षीया सेन्ड्रा बर्कभिस्ट भन्छिन्, “के बाहिर साँच्चै त्यति भयानक अवस्था छ ?” उनले फेरि भनिन्, “अवश्य पनि हामी संवेदनशील मानिसहरुका लागि चिन्तित छौँ तर मिडिया नहुने हो भने हामीलाई दुनियाँमा त्यस्तोसम्म भइरहेको छ भन्ने कतै कहिँ आभास हुँदैन ।”

यसरी युवाहरु मात्र नभएर उच्च जोखिमको समूहमा पर्ने नागरिकहरुसमेत त्यति धेरै चिन्तित छैनन् । जस्तै ८० वर्षीया कोरनर र ६७ वर्षीया एरिक्सन पनि त्यही मान्छेले भरिएको सार्वजानिक स्क्वायरमा थर्मोसबाट कफी खाँदै आरामले बसिरहेका छन् । उनीहरुलाई थाहा छ, यो बेला बाहिर निस्कनु ठीक होइन तरपनि अरुबाट दुरी बनाएर राख्दा र ‘कमन सेन्स’ लगाउँदा संक्रमणबाट बच्न सकिने उनीहरु बताउँछन् ।

एरिक्सन भन्छिन्, “हाम्रो सरकारले एकदम राम्रोसँग काम गरिरहेको छ । र यहाँका अधिकांश नागरिकहरु जिम्मेवार छन् । त्यसैले पनि हामीलाई कुनै चिन्ता छैन ।” यसरी सोमबारसम्म मात्र कोरोनाका संक्रमित १३ लाख पुगेका थिए भने विश्वव्यापी रुपमा ७३ हजार बढीको मृत्यु भइसकेको छ । तर यो विश्व संकटसँग लड्न स्वीडेनले चाहिँ बाँकी राष्ट्रहरु भन्दा अलगै बाटो अपनाइरहेको छ ।

छिमेकी देशमै सबै स्कुल, रेस्टुरेन्ट, सिमाना र पसलहरु बन्द भइसक्दा समेत स्वीडेनका नागरिकहरु काममा गइरहेका छन् भने प्राइमरी स्कुल, डे कियर, घुम्नलाई पार्क, जिम आदि सबै खुला छन् । अत्यावश्यक परिस्थितिबाहेक आन्तरिक उडान नगर्न भनिएको छ र जेष्ठ नागरिकलाई सकेसम्म घरमै बस्न प्रोत्साहन गरिएको छ । तर सबै अनिवार्य नियमका रुपमा भने कार्यन्वयन गरिएको छैन ।

स्वीडेनको सरकारले गत मार्च २९ मा मात्र सार्वजानिक रुपमा भेला हुनेको सङ्ख्या ५०० जनाबाट ५० जनाको समूहमा घटाएको हो र यो हप्ता थप नीति नियम अपनाउनुपर्ने सम्बन्धी छलफल गरिनेछ । तर यसको अर्थ स्वीडेन कोरोनाबाट ‘इम्युन’ छ भन्ने चाहिँ होइन । आइतबार त्यहाँ मृत्युको सङ्ख्या ४०० पार गरेको छ ।

प्रधानमन्त्री स्टेफन लोभेनले शनिबार मात्र संचारकर्मीहरुसँग बोल्दै हजारौँको मृत्यु हुन सक्ने हुँदा तयारी अवस्थामा रहन भनेका हुन् किनकि स्टकहोमका एक तिहाइ वृद्धाश्रमहरुमा कोभिड–१९ को संक्रमण देखा परिसकेको छ । तर पनि शनिबार र आइतबार बिदाका दिन राजधानी स्टकहोमका सार्वजनिक स्थलमा प्यान्डेमिकको कतै कुनै संकेत देखिएन ।

३० वर्षीया लिन्डा एकेसन भन्छिन्, “हो एकदुई हप्ता शहर पूरै खालि र भूतिया भएको थियो तर मान्छेहरु भित्र बस्दाबस्दा वाक्क भए । यसकारण अहिले सबैजना सरकारको सुझाव अनुरुप आफैँ निर्णय लिइ आफ्नै जोखिममा बाहिर निस्किरहेका छन् । यसमा सबैले सकेसम्म सार्वजानिक सवारी साधनको प्रयोग नगर्ने प्रयास गरिरहेका छन् र गरेभने पनि त्यसमा कुनै आपत्ति छैन ।”

उनी आफैँ पनि कम्युटर ट्रेनमा चढेर साथीलाई भेट्न जान लागिरहेकी थिइन् । यसरी केही समय अगाडि गरिएका विभिन्न अध्ययन र सर्वेक्षणहरुमा समेत स्वीडेनका नागरिक कोरोना सम्बन्धी सबैभन्दा कम चिन्ता गर्ने देशवासीमा परेका हुन् । त्यहाँका सबैजना विश्व महामारीको क्षति कम गराउन स्कुल र सिमाना बन्द गराउनु भन्दा परीक्षण तीव्र गराइ, क्वारेन्टाइनमा जोड दिनुपर्नेमा विश्वास गर्छन् ।

अर्की एक ३५ वर्षीया आर्टिस्ट मिकेला क्लेभ भन्छिन्, “म अहिले जति सक्दो सामान्य जीवन बिताउने प्रयास गरिरहेकी छु । किनकी सबैकुरा एकैपटक बन्द भएर रोकिए पनि कङ्गाल हुने अवस्था आउन दिनु हुँदैन । हाम्रो स्वास्थ्य प्रणालीलाई पनि पैसा आवश्यक छ जुन हामीले तिर्ने करबाट प्राप्त हुन्छ।” यसबीच स्वीडेनवासीहरुमा एउटा भनाइ पनि लोकप्रिय बनेको छ, “जो बाँच्छ उसैले देख्नेछ ।” – द वासिङटन पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *