२ घण्टा बसेर सकियो खुमलटार बैठक, पार्टी एकता बचाउनुपर्ने नेताहरुकोे जोड

काठमाडौँ । बिहीबार बिहान खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग आफ्नै निवासमा छलफल गरेका हुन् ।

छलफलका क्रममा पार्टी एकतालाई कसरी बचाएर जाने भन्नेमा छलफल भएको एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार सबै सहभागीहरुले पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत रहेको छ ।

‘छलफल भयो । सबैको पार्टी एकता कसरी बचाउने भन्नेमा चिन्ता व्यक्त भयो । यसका लागि थप छलफल गर्न आवश्यक पनि देखियो’, छलफलपछि नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।

नेता हरिबोल गजुरेल पनि छलफल र सहमतिबाट पार्टीको विवादलाई हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिए । ‘हामी सबै एउटा डुंगामा सवार छौँ । डुंगा डुब्यो भने हामी सबै डुब्छौँ,’ उनले भने, ‘छलफल र सहमतिबाट समस्या समाधान गर्नुपर्छ । पार्टी विभाजन हुन दिनुहुँदैन ।’

छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए । त्यस्तै प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए ।

पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्र पारेका हुन् । हिजो बेलुका मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए । नेकपाको स्थायी समिति बैठक आजै बालुवाटारमा बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *