२ सय स्वास्थ्यकर्मी कोरोना संक्रमित

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा कोविड १९ बाट कम्तीमा २ सय स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले उक्त जानकारी दिएका हुन्। उनले नयाँदिल्लीमा मात्र २ सय स्वास्थ्यकर्मी कोविड संक्रमित भएको बताए।

उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए। उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए।उनले मंगलबार भने, ‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २ सय स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन्।’ उनले यहाँका अस्पतालमा दैनिक संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्ने गरेको पनि बताए।

उनले कोविड १९को उपचारका लागि तोकिएका अस्पतालभन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरूमा यो संक्रमण देखिएको बताए। उनले दिल्लीको बाबु जगजीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए।

उनले दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन्। हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन्। उनका अनुसार नयाँदिल्लीमा गत १४ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर भएको छ।

स्वास्थ्यमन्त्री जैनले भने, ‘नयाँदिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीव्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुने थियो।’जैनले लकडाउनको बारेमा यसै भन्न नसकिने बताए। उनले बाँकी दिनमा संक्रमणको फैलावटको अवस्था ख्याल गरी निर्णय गरिने बताए। हाल त्यहाँ जारी लकडाउन आगामी मे ३ सम्मका लागि रहनेछ। त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पनि भारतका मुख्यमन्त्रीहरूसँग यस विषयमा भिडियो कन्फरेन्स बैठक गरेका थिए।दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भने दिल्लीमा संक्रमणको विस्तार दर बढ्दै गएकाले लकडाउनको अवधि थप्नुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *